लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी उपन्यासको विश्लेषणः
लेखक परिचयः
जन्मःवि.सं. १९८१
मृतुः वि.सं. २०५९
कृतिहरूःउपन्यासहरू
मुलुक बाहिरमाइतीघर
लङ्गडाको साथी
रेम्ब्रान्ट
उनको पहिलो रचना सन् १९३८मा 'अमावस्याको रात्री' शीर्षकको कथा
पुरस्कारः
गोरखा दक्षिणबाहु
पृथ्वी प्रज्ञा पुरस्कार
भूपालमानसिंह पुरस्कार
उत्तमशान्ति पुरस्कार
सरस्वती पुरस्कार
पृथ्वी प्रज्ञा पुरस्कार
भूपालमानसिंह पुरस्कार
उत्तमशान्ति पुरस्कार
सरस्वती पुरस्कार
अाैपन्यासिक प्रवृत्तिः
१.सामाजिक यथार्थवादी,
२.मानवतावादी दृष्ट्रिकोण,
३.प्रकृतिप्रेमी,
४.निम्नवर्गीय पात्रप्रति सहानुभूति,
५. कारूणिक पक्षको चित्रण,
६. मनोविश्लेषणात्मकता,
७. अस्तित्ववादी,
८. सामाजिक विकृति तथा विसङ्गतिको विरोध
९. समतामूलक समाजको चाहना
सन्दर्भः
भाैतिकवाद तर्फ लम्कदै गरेको मानव सभ्यतामा हराउदै गएको मानवताको खोजि गर्ने कार्य यो उपन्यासका माध्यमबाट गरिइको छ । गरिबी ,दरिद्रता ,उपेच्छाको पराकाष्टको प्रस्तुति यहा पाइन्छ ।
कथावस्तुः
उपन्यासको कथानक साहै क्षीण छ । दार्जिलिङको चोक बजारमा घस्रेर हिँड्ने लंगडाको दिनचर्या नै उपन्यासको केन्द्रीय कथा हो। ऊ शारीरिक दृष्टिले कुरूप छ । उसको कुरूपतालाई देखेर स्कुले केटाहरू उसलाई भुइँभालु भन्दै गिज्याउँछन् । ऊ अरू सबै कुरा सहन गर्न सक्छ, तर आफ्नो शारीरिक कुरूपताप्रतिको उपहास सहन गर्न सक्दैन र त्यसको प्रतिकारमा लौरी प्रहार गर्छ। तर उसको प्रतिकारबाट स्कुले केटाहरू त्रसित नभएर झन् उसको अगाडि आएर भालु हिँडेझैँ हिँडिदिँदा उसको मानसिकतामा ठूलो चोट पर्न पुग्छ । उपन्यासमा लंगडाका जीवनमा एउटा कुकुर आएको छ र कुकुर उसको जीवनको सबैभन्दा नजिकको साथी बनेको छ । व्यावहारिक रूपबाट कुकुर सुखदुःखको अनन्य मित्र बन्न पुगेको छ अथवा भनौं कुकुर मानवकै रूपमा देखापरेको छ । लंगडाको दुःखसुखलाई कुकुर बुझ्दछ र कुकुरका इच्छा चाहनालाई लंगडाले चिन्दछ । कहीं कतैबाट पाएको दुईचार पैसाले आफू खान्छ र कुकुरलाई समेत खुवाउँछ । यस्तै दुःखका दिनहरू काट्दै गएको लंगडालाई सहयोग र सद्भाव त परै जाओस्, उसले बिरामी हुँदा समेत सभ्य भनाउँदाहरूको अपहेलना र तिरष्कार सहनु पर्दछ । वैशाखीका भरमा घस्रेर हिँडी दशौं जनासँग दाँत ङिच्याउँदै हात जोडी मागेको पैसासमेत एक दिन चोरी भइदिन्छ, भिखमङ्गाको पैसा चोरी भएपछि सिंगो मानव समाजप्रति उसको घृणा जागृत हुन्छ । उता उसको साथी कुकुर हराउँछ र एकैचोटि असह्य चोट उसमाथि थोपरिनु पुग्दछ । ऊ कुकुर कसैका घरमा बाँधिएको सपना देख्छ र उसलाई आफू छुटकारा दिन पुग्छ सपनामा । सभ्य, शिष्ट र भद्र भनाउँदाहरूमा गुम्दै गएको मानवीयताको चित्र उपन्यासमा प्रस्तुत गरिएको छ । प्राकृतिक रूपले पीडित, मानवीयता गुमेका मानव समुदायबाट तिरष्कृत लंगडालाई त्यसमाथि अझ प्राकृतिक प्रकोप थोपरिन पुग्छ र उसको जीवन झन् कारुणिक बन्छ । हुरी, बतास र मुसलधारे पानीमा ओतसमेत पाउन सक्दैन, त्यसको साटो उल्टै चोरको संज्ञा पाएर गलहत्याइनु परेको कारुणिक घटनालाई उपन्यासमा प्रस्तुत गरिएको छ । मरणासन्न अवस्थामा पुगेको लंगडाको जीवनको अन्तिम क्षणमा उसको मित्र आइपुग्छ र अशक्त, बेहोस तथा मृत्युको मुखमा पुगेको लंगडाको दुःखमा दुई थोपा आँसु खसाल्छ । लंगडो प्राणीका रूपमा केवल कुकुर बराबर मात्र देखापर्छ र उसले एकैदिन मात्र पनि मान्छेहरूबाट मानवीय व्यवहार नपाएर जीवन उत्सर्ग गर्छ । उसको मृत्युमा कसैको आँत रसाउँदैन, मात्र कुकुर उसका मृत्युका व्यथाले विह्वल भएर जताततै भौंतारिँदै व्याकुल बन्छ र मर्छ। मृत्युको करिब एकवर्षपछि कुकुर र लंगडाको हाड मसानघाटमा एकै ठाउँमा गाँसिएर रहेको आकस्मिकताको उल्लेखसँगै उपन्यास समाप्त हुन्छ ।
पत्र वा चरित्रः
चरित्रका दृष्टिले लंगडाको साथीलाई हेर्दा यसमा एउटा मानवीय पात्र लंगडो र अर्को मानवेत्तर पात्र काले कुकुर गरी दुइवटा पात्र मात्र छन् । ऋण चुकाउन कसैका घरमा नोकर बसेको व्यक्ति रुखबाट खसी लंगडो बन्न पुगेको लंगडो नै यस उपन्यासको प्रमुख पात्र हो । शरीर निकम्बा भएपछि दार्जिलिङ्गका चोक, सडक र गल्लीमा हात पसार्दै माग्दै जुठो रुखो खाएर दिन गुजारा गर्ने लंगडाको व्यक्तित्वमा कुनै उतार चढाव वा थपघट भएको छैन, एकै प्रकारले उसका दिन वितेका छन् । उपन्यासका नायकमा हुनुपर्ने उच्च व्यक्तित्व यस उपन्यासमा छैन, लंगडो एउटा टाइप मात्र हो। उपन्यासका नायकमा हुने स्वतन्त्र र उच्च व्यक्तित्व उसमा छैन, पात्रको महानता र कमजोरी अथवा उत्थान र पतनले उसको व्यक्तित्व, अस्तित्व र वैयक्तिक चरित्र निर्माणमा जुन प्रकारको भूमिका खेल्दछ, त्यस्तो स्थिति पनि लंगडाका कार्यव्यापारमा देखापर्दैन। ऊ खालि टाइप मात्र हो एक वर्गको प्रतिनिधित्व गर्ने । यसले संसारभरका यावत् विपन्न वर्गको प्रतिनिधित्व गर्दछ, बरू एउटा प्रतीकका रूपमा आएको छ- दलित र उपेक्षित वर्गको शिक्षित, प्रबुद्ध र सम्पन्न व्यावहारिक वर्गले मान्छेलाई मान्छे नभनेर पशुसरह व्यवहार गरी जुन प्रकारको उपेक्षित व्यवहार गर्दछन्, त्यसका विरुद्धमा उपन्यासकारले सामाजिक विकृति, विसङ्गति र मानवता गुमेको समाज र व्यक्तिप्रतिको व्यङ्ग्यका लागि उपस्थित गराइएको पात्र हो र यसको उपस्थितिको मुख्य उद्देश्य मानवता र सामाजिक न्याय प्राप्ति हो। तसर्थ उच्च व्यक्तित्व, त्यसको उत्थान र पतन नदेखाई उपन्यासकारले कारुणिकता जन्माउने उद्देश्यले लंगडोलाई उपस्थित गराएकाले उपन्यासको नायकका रूपमा लंगडो प्रस्तुत भएको छ ।
उपन्यासमा देखापर्ने अर्को पात्र कुकुर हो। कुकुर मानवेतर प्राणी हो तापनि उपन्यासकारले उपन्यासमा उसको व्यवहारमा मानवीकरण गरेका छन् । उपन्यासभित्र उसको खासै क्रियाशील भूमिका छैन, तर एक्लो, अनाथ एवं वेसाहारा लंगडो एक्लो अवस्थामा हुँदा उसलाई हरपल सहारा दिने र सहयोग गर्ने पात्रका रूपमा ऊ देखापर्दछ । ऊ मानव भाषा बुझे अमूक पात्रजस्तै देखापर्दछ । लंगडाका सुखदुःखमा साथ दिने, प्रत्येक क्रियाकलापमा सहभागी बन्ने मान्छे साथीका रूपमा कुकुर आएको छ । उसले लंगडालाई मानसिक आश्रय यति दिइरहेको छ कि ऊ नहुँदा लंगडो नियास्रो महसुस गर्दछ भने कुकुर पनि लंगडोबिना आफूलाई एक्लो महसुस गर्दछ । यसरी उपन्यासमा लंगडाको जीवनमा कुकुर प्रवेश गरेर सबैभन्दा नजिकको मित्र बनी निष्कृय, तर महŒवपूर्ण पात्रका रूपमा देखापरेको छ ।
उद्देश्यः
लंगडाको साथी उपन्यास सामाजिक विकृति र विसङ्गतिको राम्रो नमुना हो। चर्को व्यापारीकरण र अर्थमुखी बन्दै गएको मानवीय मनोवृत्तिप्रति व्यङ्ग्य यस उपन्यासमा गरिएको छ । केही प्राप्तिका लागि केही गरिनु व्यापारिक धारणा हो । कसैबाट केही सहयोगको अपेक्षा राखेर केही सहयोग गर्नु व्यापारिक मनोवृत्ति हो । मानवतावाद यसको ठीक विपरीत ध्रुवमा उभिन्छ । मान्छेभित्र झ्याङ्गिएर रहेको व्यापारिक धारणाले गर्दा दार्जिलिङ्गका चोक बजारमा व्यापार गरी बस्नेबाट लंगडाले केही सहयोग प्राप्त गर्न सक्दैन- कारण उसबाट उनीहरूले केही पाउने आशा छैन। उसबाट केही पाउने सम्भावना छैन, उसलाई केही सहयोग गर्दैनन् । विवश जीवन र दयनीय अवस्थामा लंगडाले कुकुरको सहयोग र प्रेम प्राप्त गर्नुबाट आडम्बरी मनुष्य समाजमाथि प्रहार गर्न खोजेको प्रष्ट हुन्छ । हाम्रो समाजमा र व्यक्ति मानसिकतामा विकसित हुँदै गएको यस मनोवृत्तिले हाम्रा नियम, व्यवहार, मानवीय मूल्य सबैमा व्यापारीकरण भएको छ भन्दै उपन्यासकारले उपन्यासका माध्यमबाट मानवीय भावनाको विकासको खाँचो कुरा बताएका छन् ।
विश्वभरि गुञ्जिने मानवतावादको चर्को नाराको कुनै अर्थ नभएको विश्वपरिवेशतर्फ पनि लंगडाको साथी उपन्यासकारले साङ्केतिक व्यङ्ग्य प्रहार गरेको छ । रछानमा बस्ने र भिख मागेर खाने निरीह लंगडालाई सहयोग गर्न त कता हो कता उसका सामान चोर्ने र उल्टै उसलाई चोरको आरोप लगाएर गलहत्याउनुले आजको मान्छे कति तुच्छ र निकृष्ट बन्दै गएको छ भन्ने राष्ट्रियताका सीमाभित्र मात्र नरही अन्तर्राष्ट्रिय समस्या समाधानका लागि संयुक्त राष्ट्र संघ, मानव अधिकार संघजस्ता विश्व संघसंस्थाहरूको कुनै अर्थ नरहेको पक्षतर्फ व्यङ्ग्य गरेको छ । जब आफ्ना चोक चोक र गल्ली गल्लीमा समस्यामा राष्ट्र मौन छ भने विश्वशान्ति, विश्वमानवता र विश्वभ्रातृत्वको दुहाइ दिनु आफैंमा हास्यास्पद कुरा हो भन्ने साङ्केतिक व्यङ्ग्य उपन्यासमा ध्वनित हुन्छ । वैज्ञानिक उन्नति र विकासका नाममा मान्छे पृथ्वी छाडेर चन्द्रयात्रा गर्न थालिसक्यो, ग्रह ग्रहको वैज्ञानिक अध्ययन गर्न लागिसक्यो, तर आफ्ना चोक चोक र गल्लीगल्लीमा रहेका समस्याप्रति मान्छेले चियाउने गरेको छैन भन्दै आज विश्व र आजका मान्छे विकास र उन्नतिका नाममा अन्धो बन्न पुगेको तथ्यलाई सङ्केत गरिएको छ । यसरी उपन्यासकारले यस उपन्यासमा लंगडो र उसले भोग्नु परेको नियतिका माध्यमबाट सामाजिक न्याय, मानवीय न्याय, आर्थिक न्याय, विश्वमानवता र व्यापारिक सभ्यताप्रति तीखो व्यङ्ग्य गरेका
छन् ।