पारिजातको परिचयः
वास्तविक नाम: विष्णु कुमारी वाइबा
जन्मः( वि .सं. १९९४ - वि.सं. २०५०)
शिक्षा – बी .ए .
प्रथम कथा – मैले नजन्माएको छोरो (२०१०)
कृतिहरूःआदिम देश (कथासंग्रह २०२५),साल्गिको बलत्कृत अाँशु(कथासंग्रह २०४३), बधशाला आउँदा जाँदा(कथासंग्रह बि .सं. २०४९)
पुरस्कारः
मदन पुरस्कारः ( वि.सं. २०२२),युगज्ञान पुरस्कार( वि.सं. २०२७),पाण्डुलिपि पुरस्कार (वि.सं. २०४९)गण्डकी बसुन्धरा पुरस्कार( वि.सं. २०४९)
पारिजातका कथागत प्रवृत्तिहरूः
१.अस्तित्त्ववादी ,विसङ्गतिवादी तथा प्रगतिवादी जीवनदृष्टि,
५. स्वाभिमानी स्वर,
६. विद्रोही चेतना,
७.सामन्ती ,शोषण र असमानताको विरोध,
८.सरल तथा सहज भाषाशैलीको प्रयोग हुनाको साथै कवितात्कता,
९.बिम्ब प्रतीकको प्रयोग,
१०.मानवतावादी दृष्ट्रिकोण ।
कथाः
कानपुरको एउटा कहिल्यै घाम नछिर्ने कोठामा, पूर्वी झ्यालबाट बिहान हुनुको आभास बिस्तारै भित्र पस्छ । ध्याँसे उज्यालोमा देखिन्छ, एउटी तरुनीको अस्तव्यस्त लास जस्तो शरीर कोठाको कुनामा राखिएको खाटमाथि पल्टिएको छ। लाज उदाङगिएको उसको शरीरलाई हेर्दा यस्तो लाग्छ मानौँ यौन भोका पुरुषहरूले उसलाई रातभरिमा दसौँपल्ट बलात्कार गरेर फालिदिएका छन् । कोठामा ठर्राको हलुका गन्ध रुमल्लिरहेको छ । ओछ्यानभरि बेलीको फूल किच्चिएर मिच्चिएर छरिएका छन्, निर्मम हत्केलाहरू निमोठ्दै फालिदिए जस्तो, ठीक त्यो तरुनीको ज्युँदो लास जस्तै ।
एकछिनपछि अचानक तर्सेर ऊ ब्युँझन्छे र सोच्छे छि … कति नराम्रो सपना देखिछु, लुम्रीझुम्री भएकी मेरी आमा त हरियो टपरीमा भात खाइरहेकी ।’ आँखामा कचल्टिएको निद्रा बिझाइरहेको छ, सारा शरीर दुखिरहेको छ तैपनि बिस्तारै उठेर ऊ झ्यालको उज्यालोसम्म आउँछे त्यही अस्तव्यस्त अवस्थामा । लाज त सयौँपल्ट उगाएर सयौँपल्ट पचिसकेको छ । त्यसैले लाज मरिसकेको छ उसको मानसमा । शरीरसँग लाजको अब कुनै साइनो छैन । छेउमा राखिएको ऐना टिपेर आफ्नो अनुहार हेर्छै, निकै बीभत्स भएछ हिलो पानीले चुटेको पोष्टर जस्तो । ओठबाट भागेर लिपिस्टिक च्युँडो, गर्धन जतासुकै पुगेछ, गालाको लाली बेपत्ता, गाजल आँखाबाट बगेर गालाभरि पोतिएछ ।
बिरक्ति साथ ऐना झट्कारेर फालिसकेपछि ऊ फेरि झ्यालबाट छिरेर ध्वाँसे उज्यालोलाई आत्मसात् गर्दै सोच्न थाल्छे, यहाँबाट नेपाल उत्तरपट्टि पर्छ । सिन्धुपाल्चोकमा पानि यतिखेर लागिसक्यो होला । यहाँ घाम देख्नै पाइँदैन, एक बर्ष भयो घाम देख्न नपाएको, ए….नी….लै…लै… यतिखेर कान्लानेरको दुधिलोको रूखको पात घाममा टल्किहेको होला । अब माली गाईको बाच्छि आ…बाँ गरेर कराउँछे । आबा म्हाने पेमे सिध्याएर अघि नै डाँडाको घ्याङतिर लागिसके होलान् ।
आमा रुँदै गाईलाई घाँस हाल्दै होली र भन्दै होली मन मनमा बुढेसकालको टेको त्यो साल्गी कहाँ गइहोली, मरिसकी कि बाँचेकी होली, कुन पापीले भगायो होला त्यसलाई, त्यसलाई नजर लाउने थुप्रै थिए, फर्केर आउली कि नआउली । भीरबाट खसेर कतै मरी पो राखैकी छ कि भनी लाठेहरू लगाएर पहरा हुँदो खोजे होलान् मलाई पनि, पोहोर सुन्तली हराउँदा खोजे जस्तै ।
सुन्तली पनि त फर्केर आइन, लास पनि पाएन । “ए साल्गी मोरी यतिखेरसम्म सुतिवस्छेस्, अल्छिनी, हामी त बैँसमा यतिबेलासम्म तीन भारी घाँस ओसारिसक्थ्यौँ खानका काल ।”जन्मँदै मेरो कपाल लामो लामो थियो रे र मेरी आमाले मलाई साल्गी भनेर नाउँ राखिदिएको मेरो यो बाबियोको कुचो जस्तो लामो कपाल देखेर दौँतरीहरू मलाई गिज्याउने गर्थे, “मन परेकोसँग पोइल जान नपाए यो सानीलाई आफ्नै कपालले पासो हालेर मर्न भियाउँछ ।” अब मेरी आमाले मकैको जाँडमा फिर्के लगाउँछे । लश्करी बाख्रीले कति खोजी होली मलाई, ब्याउने थिई बिचरी । सोच्दा-सोच्दै उसका बासी आँखाहरूबाट तपतप आँसु चुहुन थाल्छ । पेटीकोटको घेरोले ऊ आफ्ना आँखा पुस्छे ।कोठा बाहिर एउटी प्रौढाको कर्कश स्वर गुञ्जन थालेको छ, “लौँडियो उठो, कितनी देर तक सोते रहेते हैं यो लोग । नहाओ, धोओ, नाश्ता करो, दिनभर पडे रहो …. ।”भर्खर सपनामा आफ्नी आमालाई देखेकी साल्गीको मन सिन्धुपाल्चोकको डाँडा गाउँबाट फर्किन मान्दैन । आँसु पुछ्दै ऊ मनमनमा दोहर्याउँछे, ‘मेरी आमा रातभरि लोग्नेमान्छेहरूको सास गन्हाउने यो कोठामा एकछिन पनि बस्न मन लाग्दैन, भागेर आउँ त कसरी आउँ। यो बिरानो मुलुकमा मेरो ढोका बाहिरको सडक पनि मेरो लागि अचिनारु छ।
ल्वाँगे घर्तीले नेपालमा हिँड, गलैँचा बुन्ने कारखानामा काम लगाइदिन्छु, थुप्रै पैसा कमाउँछेस् भनी भगाएर ल्याएको, यो कुन नर्कमा ल्याएर छोडिदियो ल्वाँगे पापीले मलाई यो होटलमा हो, एकछिन बस्दै गर म एकैछिनमा आउँछु भनी गएको ल्वाँगे एक वर्ष भइसक्यो फर्केर आएन ।
म तिम्रो अनुहार कहिले हेर्न पाउँला मेरी आमा ।’ मैलो पेटीकोटले आँसु पुछ्दै ऊ घुँक्कघुक्क रुन्छे ।
अब कोठामा फिक्का उज्यालो छरिन्छ। कता-कता रिक्सा र मोटरको हर्न बजेको सुनिन्छ । सरदार्नीको कोठाबाट भजनसँगै तमाखुको बास बाहिरिँदै छ । साल्गीलाई केही गर्न मन लाग्दैन, आमा बिरामी पो परिन् कि न, आमालाई केही पो भयो कि ? बस, यति सोच्छे, रुन्छे । हुँदा हुँदै ऊ झ्यालअघिको भुइँमा लमतन्न परेर पस्नन्छे। वर्ष दिनअघिको विगतको एक पाना पर्लक्क पल्टिन्छ।
लश्करी बाख्री चराउन गएकी थिई उ, मामाघरबाट पेवा दिएको बाख्रा । दसैँताकको रमाइलो घाम लागिरहेको थियो । घाम र झ्याउँकिरीको आवाजमा दसैँको बास चल्न थालिसकेको थियो । अप्ठ्यारो डिलमा उम्रेको एँसेलुको फेदमा लश्करी चरिरहेकी थिई । त्यसैको अलिक पर बसेर साल्गी पोल्टोबाट मकै भटमास झिक्दै खाँदै थिई । उसको भावना अर्केतिर बगिरहेको थियो । उसलाई माग्न आउने थुप्रै भइसकोका थिए तथापि उसका बाबा ,आमाले उसलाई उसकै मामाको छोरोसँग दिने तय गरे । खाइवा लामा हो, थान्का राम्रो लेख्छ, पैसा कमाउँछ, दाजुभाइको छोरीसँग रीत के खाने ! नखाने …। आफ्नै मामाको घरमा छोरी सुखमा बस्छे । आमा यसै भन्थी तर कुरो छिनिसकेको थिएन, बिहे गरिदिनलाई अलिकति पैसा त चाहिन्छ ।
त्यति नै खेर मास्तिरबाट सुसेल्दै ल्वाँगे घर्ती झरेको थियो र हाँस्दै उसलाई एउटा फेटावाल चुरोट दिएको थियो । चुरोट सल्काइदिँदै ल्वाँगे घर्तीले भनेको थियो । “क्या होई साल्गी, नेपाल घुम्न जाने होइन ?”
“जान्नँ, त्यो एकपल्ट हेरेकै ठाउँ त हो नि” उसले नाक चेप्राइदिएकी थिई ।
ल्वाँगेले फेरि भनेको थियो, “तँ गएको जस्तो हो र अहिलेको नेपाल । कस्तो भइसकेको छ गाँठे, तर मैले तँलाई घुम्न मात्र जान भनेको होइन नि, पैसा कमाउन पो भनेको त ।”
त्यसपछि जिज्ञासाले भरिएर उसले सोधेकी थिई, “प….पैसा…?”
उसको जिज्ञासालाई ल्वाँगेले यसरी प्रस्टाइदिएको थियो, “हेर साल्गी, अहिले नेपालमा गलैँचा बुन्ने कारखाना थुप्रै खुलेको छ। तैँले भनेको ठाउँमा म लगाइदिन्छु । पहिलो महिनादेखि नै चार सय रुपियाँ दिन्छु भनेको छ, कम हो चार सय रुपियाँ भनेको ! के बिचार छ, जान्छेस् ?”
महिनाको चार सय रुपियाँ कमाउने कुरा सुन्दा उसको आँखा विस्फारित भएको थियो र सोचेकी थिई, यतिका पेसा ल्याएर आमा बाबालाई दिन पाए त … त्यसपछि उसले बोलेकी थिई, “आमा-बाबाले दिँदैनन् ।”
“सोधेर हेर् न एकपल्ट, दिएन भने हिँड न सुटुक्कै” ल्वाँगेले सल्लाह दिएको थियो ।
आमा-बाबा छोडेर जानपर्ला भनी उसको मुटु एकपल्ट चिमटेको जस्तो भयो । उसले भनेकी थिई, “आमा-बाबा रोएर मर्लान् ?”
खप्पिस ल्वाँगे घर्तीले उसलाई अन्तिमपल्ट फकाएको थियो, “नेपालमा गलैँचा कारखानामा काम गर्न गएकी छ भनी हल्ला फिजाई राखिदिउँला नि। अनि त एक-दुई दिनपछि खोज्दै-खोज्दै कारखानामा नै आइपगिहाल्छन् नि, दसैँ मनाई हाल न ।”
दसैँ सिद्धिएर तिहार आउनअघि ल्वाँगे घर्तीले एकदिन साल्गीलाई भालेको डाकैमा डाँडा कटाइदियो । त्यसपछि साल्गी कहिल्यै नेपाल पुगिन । लश्करी बाख्री कानै पे….गरेर कराएको जस्तो लाग्यो उसलाई । उसका बासी आँखाबाट फेरि आँसुको ओइरो बगेर आयो ।
सपनामा आमा देखेकी भएर आज उसलाई पटक्कै उठ्न मन लागेको छैन, खान मन पनि छैन । ऊ घरीघरी ल्वाँगे घर्तीलाई आफ्नै मनको हतियारले टुक्रा-टुक्रा काट्दै, क्षतविक्षत पार्दै बसिरहन्छे । यसरी उसको आक्रोश पटक्कै शान्त हुँदैन । उसलाई त्यही झ्यालबाट हाम फाल्न मन लाग्छ, तर सक्दिन । सास छउन्जेल आस हुन्छ, सोच्छे, कतै एक दिन यहाँबाट भाग्न सकिएला कि ! भाग्यको कुरो को भन्न सक्छ ।
वेश्यालयभित्रको दिन कति एकरस, कति नीरस, कति उजाड, असङ्ख्य व्यथा, आँसु, विवशता र मनको धोकोहरूले अचानो पारेको पर्खाल भरेङ र मझेरीहरू लिएर एउटा यस्तो कारावास बनेको हुँदो हो जहाँ असङ्ख्य पवित्र आत्माहरूले बिना अपराध आजीवन कारावासको सजाय पाउँछन्, जहाँ निरपराधहरूले सधैँ मानसिक र शारीरिक यन्त्रणा एकनास भोगिरहेका हुन्छन् । साल्गी जस्तैहरूको कौमार्यको रगतले सिँगारिएका कोठाहरूमा घोर विसङ्गत क्षणहरू हाई काढ्दै बाँच्दा हुन् । ती पवित्र आत्माहरू सिफिलिस, तिरस्कार, मूल्यहीन मृत्यु र बेवारिस लास भएर
जीवनको टुङ्गो लगाउनपर्ने । सरदार्नी र दलालहरू सधैँ भनिरहँदा हुन् “आखिर क्या फरक है तुम लोगो का जीवन बाहर और भितर ?”
साल्गीलाई उठ्ने, नुहाउँने, खाने केही गर्ने पनि जाँगर चल्दैन । त्यसै पनि जीवनप्रतिको जिज्ञासा नाउँको भावना वेश्यालयभित्र हुँदैन । जतिसुकै नुहाए पनि, धोए पनि यहाँको फोहोरी वातावरण फेरिने होइन क्यार, मनको पवित्रता कसले देखोस् ! दिनभरि आलस्यलाई यता फर्काऊ उता फर्काऊ अर्को कुनै इलम त छैन । घोर विसङ्गतिको अनुभूति हुन थाल्छ साल्गीलाई, तर उ परिभाषा गर्न जान्दिन । उसको शरीरबाट अझ पनि लोग्ने मान्छेको दुर्गन्ध हराइसकेको छैन, उसले सिन्धुपाल्चोकबाट लिएर आएको आफ्नो मौलिक सुगन्ध कता हरायो कुन्नि ?
साँझ पर्छ, भद्दा मेकअपमा सजिएर निस्कन पर्छ भयालतिर अश्लील साउती गर्नलाई । सस्तो प्रशाधन र बेली-चमेलीको चर्को बासनाले टाउको फुट्ला जस्तो हुन्छ, फेरि त्यसमाथि थपिन्छ पिएर आउनेहरू रक्सीको गन्ध,। सस्तो अगरबत्तीको धुवाँ, बासना उफ् ! वेश्यालय हो यो, यहाँ योभन्दा बेग्लै केही हुँदैन ।
साल्गी फेरि सोचाइमा बग्न थाल्छे । ठीक यतिखेर सेलो हाल्दै जाँतोमा मकै पिँधिरहेकी हुन्छे ऊ । आबाको उही, “म्हाने पेमे” कति शान्ति दिन्छ कल्पना गर्दा पनि आबाको त्यो गह्ङ्गो स्वरमा घरभरि गुन्जिरहेको ऊँ म्हाने पेमे । तर यहाँ, यहाँ त ब्वाँसो, हाप्सिलो जस्तो लोग्ने मान्छेहरू घरमा स्वास्नीहरूलाई छलेर, पर्खाएर खुरुखुरु आउन थाल्छन् । अनि कराउन थाल्छन्, “वो वो नेपाली न चाहियै ।” कहिले छिन-छिनमा फेरिन्छन्, कहिले रातभरिलाई रिजर्भ । छि ! कति घिनलाग्दा हुन्छन् यी लोग्ने मान्छेहरू ।
यसरी साल्गीको थकान र विवशता भारतीय मुद्रासँग साटिएर सरदार्तीको पर्सभरि भरिँदै छ । एउटा भारतीय लोग्ने मान्छेले चरम सुख प्राप्त गरिरहेको बेला साल्गीको मनमा विद्रोहको भावना जाग्न थाल्छ । ‘टाढाको देउताभन्दा गाउँको -भूत काम लाग्छ भन्थे तर पैसा तिरेर लुट्ने यी ब्वाँसाहरू भन्दा त्यो ल्वाँगे घर्ती डरलाग्दो हो, त्यो गाउँको भूत । मेरो पनि भूत ।’
त्यो भारतीय लोग्ने मान्छे उठेर गइसम्दा साल्गीको विद्रोह आँसु भएर पग्लन थाल्छ, “के कसैले पनि ल्वाँगे घर्ती र म गाउँबाट सँगै हराएको थाहा पाएन ? के कसैले पनि ल्वाँगे घर्तीलाई एक वचन सोधेन ? के ल्वाँगे घर्तीलाई मेरा गाउँलेहरू अब कहिल्यै चिन्दैनन् ? किन ? ल्वाँगे घर्तीले पापको फल किन भोग्दैन ? किन ल्वाँगे घर्तीलाई कसैले खुकुरीले छपक्क काटेर दुई टुक्रा बनाइदिँदैन !’
शीर्षकः
यस कथामा निम्नवर्गीय साल्गी अाफ्नो अार्थिक अवस्था सुधार्ने सपना वोकेर कामको लागि काठमाडाैं जान भनि ल्वागे घर्तीसँग जानु तर ल्वागे घर्तीले भने भारतको वेश्यालयमा बेचेको घटनालार्इ कथावस्तु बनाइको हुनाले यो कथाको शीर्षक उत्कृष्ट छ । यसमा साल्गी बलत्कृत भएको चरम पिडालार्इ प्रस्तुत गरिएको छ ।
कथाको सन्दर्भः
नारी बेचिने,भोग्ने, र साट्ने वस्तु ठान्ने नेपाली समाजको सामान्ती प्रवृत्तिको सन्दर्भ यस कथाले समेटेको छ ।
पात्रः
यस कथामा साल्गी प्रमुख पात्र हो भने ल्वाँगे घर्ती,साल्गीका बुबा अामा,साथीहरू,कानपुरका सर्दार्नीहरू,वेश्यागमन गर्ने पुरूषहरू,कोठी खोल्ने गिरोह जस्ता पात्रहरूको उपस्थिति यस कथामा देखिन्छ ।
साल्गीः
साल्गीलार्इ केन्द्रमा राखि निर्माण गरिएको यस कथामा ग्रामिण समाजमा हु्र्किएकी सिधा साधा चेलीलार्इ जागिर खोजिदिने अाश्वासन दिएर लगेको गाउँले पुरूषबाट नै वेश्यालयमा बेचिन पुगेकी छे । घरको अार्थिक अवस्था सुधार्ने लोभमा परि कसैको विश्वास गर्दा फन्दामा पर्न पुगेकी साल्गी अामा बाबाको याद,गाउँको सम्झना गर्दै भारतमा नरकीय जीवन विताउछे ।अाफूलार्इ झुक्याएर बेचेको ल्वागे घर्तीलार्इ कसैले छप्कार्इदिए पनि हुने भन्ने ठान्दै बिद्रोह भाव व्यक्त गर्छे । यसरी यस कथामा साल्गी भारतको कोटीमा बेचिने नारीहरूको प्रतिनिधि पात्र हो ।
ल्वँागे घर्तीः
ल्वाँगे घर्ती यस कथाको खल पात्र हो ।साल्गीको जीवनलार्इ नरकीय बनाउँन यसको महत्तवपूर्ण भूमिका छ । गाउँका सोझा साजा चेलीलार्इ ललाइ फकाइ बेच्न समेत पछि नपर्ने फटाह,ठग दुष्ट पात्रको रूपमा देखा परेको छ । मानवको अनुहार परेको दानवको रूपमा ल्वाँगे घर्तीलार्इ चिन्न सकिनछ ।
परिवेशः
स्थानगतःसिन्धुपाल्चोक, भारतको कान्पुर,
समाजःग्रामीण समाज,
चेलीवेटी बेचबिखनको सामाजीक समस्यालार्इ परिवेशको रूपमा लिइएको छ ।
गरिबीको नाजायज फाइदा उाठइरहेको युगीन समस्यालार्इ कथाको परिवेशले सङ्केत गरेको छ ।
कथावस्तुः
यस कथामा साल्गी सिन्धुपाल्चोकको ग्रामिण समाजमा हुर्किएकी हुन्छे । उसको घरको गरिबी टार्न्र रहरले बाबुअामालार्इ नभनी ल्वाँगे घर्तीको विश्वासमा कामको खोजिमा घर छोड्छे ।ल्वँगेले उसलार्इ ढाटेर भारतको वेश्यालयामा पुर्याइ बेचिदिन्छ र साल्गी बेचिन पुग्छे । दैनिक फरक फरक पुरूषबाट वलत्कृत हुन पुगेकी अवला चेलीको पिडालार्इ यहा देखाइएको छ ।ल्वाँगेप्रति पेतिशोध देखाउदै कसैले मार्दिएनि हुनेथियो भन्ने चाहना देखाउदै कथाको कथावस्तु अन्त्य गरिएको छ ।
उद्देश्यः
१.निम्नवर्गीय परिवारको दुर्दशालार्इ विषय बनाइ निर्माण गरिएको उक्त कथामा गरिबहुनुको फाइदा अरूले कसरी उठाउँछन्,
२.समाज र परिवारमा देखिने समस्यामा मुख्य समस्या गरिबी नै रहेको ,
३.महिलामाथिको अत्यचार,
४.भाैतिकताका लागि मान्छेले कुन हदसम्म पार गर्छ भन्ने देखाउनु,
५.मानिसलार्इ चिन्न र पहिचान गर्न पनि शिक्षा चाहिन्छ त्यसैले शिक्षालार्इ सबैको पहुचमा पुर्याउनु जरूरी रहेको देखिन्छ ।त्यसैगरी मानव तस्करमा लागेका मानिसलार्इ कडा कानुन बनाएर सजाया दिनु पर्छ । फितलो राज्य सम्यन्त्र,नारीलार्इ कमजोर देख्ने पुरूषत्ववादी सोचको अन्त्य गरी समतामुलक,शान्त र मानवतावादी चिन्तन हुनु अाजको अाजको अावस्यकता हो ।