विश्वेश्वर
प्रसाद कोइरलाको ‘श्वेत भैरवी’
कथामाथिको विश्लेषण👀👀👭
 |
विश्वेश्वर प्रसाद कोइरला |
परिचय
• जन्म - कृष्णप्रसाद र दिव्यादेवी कोइरालाका सुपुत्रका रूपमा १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मिएका
• मृत्यु – २०३९ साउन ६ गते काठमाडौंमा
• शिक्षा- बनारसमा यिनले बी. ए., बी. एल. सम्मको अध्ययन गरेका छन् ।
• सेवा - दार्जिलिङमा ट्युसन र वकालत (१९९५) नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक कार्यवाहक सभापति (२००४)
नेपाली काङ्ग्रेसको संस्थापक (२००६)
बैरगनिया“ सम्मेलनको आयोजक (२००६)
क्रान्तिताका नेपालका पूर्वीक्षेत्रको प्रमुख कमान्डर (२००६)
गृहमन्त्री (२००८)
• संसद सदस्य (२०१५)
प्रथम जननिर्वाचित प्रधानमन्त्री (२०१६)
काराबास (२०१७–२०२५)
भारत निर्वासन (२०२५–२०३३)
• हिन्दीका माध्यमबाट आफ्नो कथायात्रा सुरु गरेका कोइरालाकाहिन्दी भाषामा लेखिएका (हंस, १/‘वहाँ’ ७, १९८७), ‘पथिक’ (हंस, १/९, १९८७) ‘अपनी ही तरह’ (हंस, २/१–२, १९८८), ‘भैयादाइ’ (विशाल भारत, ४/१, १९८८), ‘होड’ (हिमालय, १/७, २००३) जस्ता कथाहरू प्रकाशित भएका छन् ।
• उनको न्वारनको नाम चूडामणि थियो । तर बनारसमा विश्वनाथ भगवान्को प्रसाद सम्झेर उनका बाबुले उनको नाउँ विश्वेश्वरप्रसाद राखिदिएका थिए । यही नाउँबाट उनी प्रसिद्घ भए
• १९९२ साल(चन्द्रवदन – शारदा पत्रिका) देखि नेपाली कथा लेखन–प्रकाशनतर्फ प्रवृत्त भएका विश्वेश्वरप्रसाद कोइरालाका निम्नलिखित कृतिहरू प्रकाशित छन्:
कथा सङ्ग्रहः
दोषी चश्मा (२००६),
श्वेतभैरवी (२०४४),
विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) ।
• उपन्यास:
तीनघुम्ती (२०२५),
नरेन्द्र दाइ (२०२७),
सुम्निमा (२०२७),
मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४२),
बाबु, आमा र छोरा (२०४५) ।
• संस्मरण:
आफ्नो कथा (२०४०),
जेलजर्नल (२०५४),
विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (२०५५) ।
• कविता सङ्ग्रहः
विश्वेश्वरप्रसाद कोइरालाका कविता (२०५९) ।
• विश्वेश्वरप्रसाद कोइरालाका उपर्युक्त पुस्तकाकार कृतिहरूका अतिरिक्त केही निबन्ध र समालोचनात्मक रचनाहरू पनि फुटकर रूपमा प्रकाशित भएका छन् । यो आलेख विश्वेश्वरप्रसाद कोइरालाको कथाकारितामा केन्द्रित छ ।
• सम्मान तथा पुरस्कार-
साहित्यिक पत्रकार संघद्वारा अभिनन्दन(वि.स.२०३८)
विश्वेश्वरप्रसादको निधनपछि हाम्रो देशको सरकारले उनको चित्र राखेर हुलाक टिकट प्रकाशित गरेको छ । उनका नाउँमा नेपालभरि थुप्रै सङ्घ–सस्थाहरू खुलेका छन् । त्यति मात्र होइन, विभिन्न सडक र अस्पतालहरूको नाम पनि उनकै नाउँबाट राखिएको छ । उनी अहिलेको नेपालका बढी प्रसिद्घ व्यक्ति मानिएका छन् । नेपालमा मात्र नभई विदेशमा पनि उनलाई नेपालका महान् सुपुत्र भनीसम्मान गरिन्छ । उनी वास्तवमा ध्रुवताराझैँ चम्किरहने नेपालका उज्याला तारा हुन् । महामानव हुन् ।
कोइरलाका कथागत प्रवृत्तिहरूः-
• मनोविश्लेषणात्मकता- शारदा (१/१०–११, १९९२ मार्ग–पौष) पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेका विश्वेश्वरप्रसाद कोइराला नेपालीमा मनोवैज्ञानिक/मनोविश्लेषणात्मक यथार्थवादी कथा लेखन परम्पराका प्रारम्भकर्ता हुन् ।
• यिनले मनोविज्ञानका विभिन्न पाटाहरूमध्येयौनमनोविज्ञानलाई विशेष ढङ्गले प्रस्तुत गरेकाले यिनलाई यौनमनोवैज्ञानिक वा रतिरागमा केन्द्रित नेपालीका ज्येष्ठ मनोवैज्ञानिक यथार्थवादी कथाकार मानिन्छ ।
• मनोविज्ञानलाई नेपाली समाज, संस्कृति, परम्परा, अर्थतन्त्रजस्ता सूक्ष्म विषयवस्तुसँग गाँसेर मनोवैज्ञानिक कथा लेख्ने विश्वेश्वरप्रसाद कोइरालाले सूक्ष्म, क्षीण वा झिनु विषयवस्तु लिई तिनमा कुनै न कुनै रूपले मनोरोगी भएका पात्रहरू उपस्थित गराएर तिनका मनको वर्णन र विश्लेषण गरेका छन् ।
• यिनी मानिसका हीनताग्रन्थि, उच्चताग्रन्थि, आत्मपीडन, परपीडनजस्ता विभिन्न मनोग्रन्थिलाई फुकाउन, मनोभ्रम हटाउन र मनोदशाको चित्रण गर्न खप्पिस देखिन्छन् । सामाजिक बाह्य संसारले मानसिक अन्तर संसारलाई पार्ने प्रभावको अध्ययन तथा पात्रका मनोविज्ञानको प्रस्तुतिलाई कथाको मुख्य विषयवस्तु बनाई अन्तर्मुखीप्रवृत्तिका कथा लेख्नु यिनको प्रमुख विशेषता हो ।
• यौनमनोविश्लेषणमा पनि अशिष्टता, अश्लीलता, नग्नता, अनैतिकताजस्ता कुराहरू नपाइनु यौनमनोविश्लेषक कोइरालाका कथाको उल्लेखनीय प्रवृत्ति हो ।
• यिनका सामाजिक खालका कथामा पनि घटनाभन्दा चरित्रले बढीमहत्व पाएको देखिन्छ।
एकभन्दा बढी कथामा एउटै नाम गरेका पात्रको प्रयोग गर्ने प्रवृत्ति कथाकार विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । ‘स्कुल मास्टर’ र ‘स्वेटर’ को गजराज, ‘प्रेम (पहिलो)’ र ‘रिक्सा तान्ने’ को धनवीर, ‘पवित्रा’ र ‘दोषी चश्मा’ को केशव आदि यस कुराका साक्षी हुन् ।
• सरल, संक्षिप्त, सुगठित, सुव्यवस्थित र अन्वितिमूलक संरचनामा आबद्ध गरी कथा लेख्नु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको शिल्पगत वैशिष्ट्य हो । झिनु वा सूक्ष्म कथावस्तु भएका चरित्रप्रधान कथा लेखे तापनि घटना र चरित्रमा सहज, स्वाभाविक र विश्वसनीय पाराले संयोजन गर्ने कुशलता यिनमा पाइन्छ । यसैकारणले गर्दा यिनका कथाहरू सरल, सहज, कलात्मक, प्रभावोत्पादक, आकर्षक, रोचक र गम्भीर पठनीय बन्न पुगेका छन् ।
• छोटाछरिता र सरल वाक्यहरूको प्रयोग गरी खारिएको, माझिएको र तिखारिएको वर्णनात्मक शैलीमा सोझो पाराले कथा प्रस्तुत गर्ने विश्वेश्वर कोइरालाका कथाहरू संरचनागत र आयामगत आधारमा छोटा भए पनि कलात्मक विशिष्टताका कारण अत्यन्त रोचक र आकर्षक छन्।
• हिन्दी भाषाको प्रभाव पाइनु इनको अर्को विशेषता हो ।
• यिनी विसङ्गतीवादी कथाकारका रूपमा पनि चिनिन्छन् ।
कथा
धेरै दिन पहिलाको कुरा हो, प्राय पैँतीस वर्ष अगाडिको । म दश एघार
वर्षको हुँदो हुँ ।
वर्षा ऋतु सिद्धिएर शरदको प्रथम चरण पृथ्वीमा थियो । कोसी
आफ्नो रौद्र नर्तनले विध्वंशकारी प्लावनताका जति क्षेत्र र आरण्य, ग्राम, मनुष्य र पशुहरूलाई त्यस वर्षको
लागि ग्रस्नु थियो, ग्रसनेर
पुनः आफ्नो सीमित परिधिमा प्रवेश गर्न लागेको थियो । तर अझै त्यस नदीको उत्पादका
चिह्न ठाउँठाउँमा जमेको जलराशि, दह, पैनी, हिलो र दलदल चारैतिर देखा पर्थे, मानौँ ताण्डव त थामियो त्यसको
कम्पन अझै वायुमण्डलमा कापिँरहेको थियो । पृथ्वी प्रसव बेदनाबाट ब्यूँझिएकी जस्ती
थिई, त्यस्तै
चिसी र काँतर । नदीको किनारमा काँसको टल्किने मुकुट हावामा हल्लिरहेको थियो ।
फाटफुट रङ्गीबिरङ्गी पुतली हावामा रङले उत्पादसँग पोतेको हलका डुङ्गाजस्तो यताउति
बगिरहेको थिए । वायुमा चिसोपन प्रवेश गरिरहेको अनुभव शरीरलाई हुन्थ्यो । वायु
मधुरो वेगले बन्थ्यो, जसले त्यसै
मनुष्यलाई फुर्ती आउँथ्यो । धानको खेत कहीँ पहेँलिन पनि थालेका थिए । जीवन
निर्धक्क निःशङ्क थियो ।
हाम्रो घरबारीको दक्षिण–पूर्वको कुनामा लेलहाको सानो घर थियो ।
त्यसलाई घर के भन्ने सानो छाप्रो थियो । लेलहा केवट जातिको सानो किसान आफ्नो छोरीको साथमा
त्यहाँ बस्थ्यो । हाम्रो गाउँको पूर्वपट्टिको कोसीको एउटा धारबाट फाटेर
आएको एउटा सानो भङ्गालो ठीक्क लेलहाको घरैनिरबाट अलिक पूर्वपट्टि बाङ्न्थ्यिो र
केही तल दक्षिणपट्टि एउटा पैनीमा मिस्सिएर पुनः कोसीको मूल धारमा प्रवेश गर्दथ्यो
। यो भङ्गालो अहिले कस्तो शान्त र ग्रामीणहरूका लागि उसले आफूलाई कति उपयोगी साबित
गरेको देखिन्थ्यो । लुगा धुनु, नुहाउनु र भाँडा मल्नुजस्ता सानाठूला पानीका काम हाम्रा
गाउँलेले यसैबाट चलाउँछन् । तर वर्षा याममा यसको रौद्रता देख्न लायक हुन्छ । यो
अहिलको शान्त ग्रामीण बधुझैँ कार्यरत अचपल नदीरेखा वर्षमा उन्मुक्त भैरवी भएर
उठ्थी । त्यस समय सबैभन्दा ठूलो खतरा ललहाको घरलाई हुन्थ्यो । किनभने त्यसको घर
ठीक भङ्गालोको पश्चिम किनारमा थियो । कोसीको बाडी आउने बित्तिकै यहाँको पानी
धमिलिएर अशान्त हुन थाल्थ्यो र लेलहाको घरलाई छुन छुन जस्तो गरेर हाहा गर्दै
दक्षिणपट्टि सवेग बग्न थाल्यो । लेलहाको घरैनिर त्यो धार बाङ्गिएको हुनाले नदीको
तीव्र प्रवाह त्यहाँनिर बक्रखड्गको धारजस्तो तेजिलो देखिन्थ्यो । त्यहाँ केही
पुग्यो कि खण्ड खण्ड भएर काटिएलाजस्तो लाग्थ्यो । त्यो धारको नजिकै वर्षाको तीन
महिना जति लेलहा र उसकी छोरी फगुनी
खेलेर बस्थे । आज त्यो धार शान्त छ । लज्जाशील ग्रामबालिकाजस्ती सोझी, स्निग्ध, स्वच्छ र मनोहर ।
लेलहाकी छोरी फगुनी
सोह्र वर्षकी हुँदी हो । तर यतिका दिनपछि स्मृतिको कुरा लेख्न बस्दा सबभन्दा अनावश्यक
वस्तु फगुनीको उमेरको चर्चा लाग्छ । सायद सोह्र वर्ष मेरो कल्पनाको उमेर होस् जसलाई मैले आज पैतीँस वर्षपछि
फगुनीलार्इ दिएको छु । तर यो कुरा त निश्चित थियो कि फगुनी अब नितान्त
बालिका थिइनँ । पैँतीस वर्ष पहिलेको स्मृतिको स्वर्णग्रामको निर्दोष वातावरण मन
पनि निर्वाध ग्रामबालिकामा उमेर चड्छ र यसको परिणामबाट त्यो बाँच्न पनि सक्तिन ।
फगुनी बालिका थिइनँ। न त त्यो परिपक्व युवती । आजकाल र त्यो पनि सहरी वातावरणमा जुन
उमेरमा युवतीहरूले परिपक्वता प्राप्त गर्छन्, त्यस समयमा हाम्रो गाउँका रमणीहरूलाई
त्यहाँ पुग्न अझै पाँच छ वर्ष लाग्थ्यो । यस हिसाबले मैले फगुनीलाई सोह्र वर्ष
उमेर दिएको थियो ।
फगुनी हाम्रो घरमा काम
गर्थी । एउटा
ठूलो परिवार भएकाले हाम्रो घरका सानातिना काम गर्दा पनि फगुनीलाई दिनभरी नै
लाग्थ्यो ।
फगुनीमा एउटा विशेषता थियो, त्यो
असाधारण ढङ्गबाट गोरी थी । गाउँका काला, ताम्र र हामीजस्तो गहुँगोरो पूर्ण भएका मानिसहरूमध्ये फगुनीको
गोरोपन असाधारणजस्तो थियो । त्यसका
आँखा खैरा थिए , साना
साना र कपालले स्वर्णिम आभा लिएको थियो । ययिद शृङ्गार प्रसाधनद्र्वारा आफूलाई सजाउन सक्ने भएकी वर्ण, केश र आँखाले त्यो दक्षिण युरोपकी
नारीजस्ती लाग्ने थिई ।तर
शृङ्गारको साधन उसलाई कहाँ उपलब्त्र थियो र? उसको केश अत्यन्तै रुखो, जोगीको जटाजस्तो पहेँलो
भएको थियो । गोराइमा पनि आर्कषणहीन सेतोपन थियो । गाउँका अरू आइमाईभन्दा अग्ली, गोलगोल अवयव – फगुनीमा
ग्रामीण आर्कषण् थिएन । त्यसको स्वभावमा अनौठोपन थियो, जो गाउँका युवतीहरूमा पाइँदैन थियो ।
त्यो अनौठो ढङ्गले अचत्तचल थिई । त्यस उमेरका जब उसका दौँतरीहरू घाँस काट्न जाँदा, पानी भर्न जाँदा, खेतमा काम गर्न जाँदा, साना साना निहुँमा खिल्ल हाँस्छन्, त्यो भने गम्भीर रहन्थी । उसका
साथीसँगी पनि थिएनन् । मातृविहीन फगुनी बाबुको स्याहारमा हुर्केकी थिई । उसका
भाइबैनी कोही थिएनन् जसले उसको बाल्यावस्थाको एकान्ततालाई खलबल्याउन सक्थे । एक त
बाबु र छोरीको एकान्त सम्बन्ध नै अस्वाभाविक, त्यसमा लेलहाजस्तो बाबु जो स्वयंम पनि
एकलकाँटे थियो । फगुनी नदीको किनारमा हुर्की, एक्ली । लेलहाको छाप्रो अगाडि एउटा
आँपको हुर्किन नसकेको रूख थियो । गाँठैगाँठा परेको । यदाकदा त्यसमा मञ्जरी लाग्थे , साना साना आँपका टिकोरा पनि फल्थे
र फल कहिल्यै पनि बढ्न पाउँदैनथ्यो । टिकोरा अवस्थामा नै सुकेर झर्थे । फगुनीले
त्यहीमुनि आफ्नो बाल्यकाल बिताएकी थिई । दिनभर बाबु खेतमा काम गर्न गएको बेलामा
एक्लै घर कुर्दै त्यही रूखको मुनि माटो खेल्दी हो र बीचमा बाीचमा नदीमा गएर नुहाँउदी
पनि हो । त्यसको स्वभाव रचनामा कोसी नदीको त्यो भङ्गालो, त्यो आँपको रूख र पिता लेलहाको
प्रभाव पर्यो होला ।
म केवल एक दिनको घटना वर्णन गर्न बसेको छु । एउटा सम्पूर्ण दिन
पनि होइन, केवल
अपरान्हको एउटा शान्त घडीमा निरभ्र आकाशमा हठात् कड्केको बिजुलीझैँ एउटा आइपरेको
आकस्मिक घट्ना । घटनाको वर्णनमा पूर्वकालीन एस्पेलसका ग्रिक नाटकहरूका दुई सङ्ख्यक
पात्रहरूजस्ता फगुनीको नाट्य मञ्चमा प्रवेश जरुरी छ, अर्को
पात्र म स्ययं म नै हुँ । घटना पनि सानो छ र, छोटकरीमा नै सुनाउनु पनि छ मलाई ।
फगुनी हाम्रो घरमा काम गर्थी । एउटा ठूलो परिवार भएकाले हाम्रो
घरका सानातिना काम गर्दा पनि फगुनीलाई दिनभरी नै लाग्थ्यो । कोठाहरूमा कुचो लाउनु, लिप्नु, पानी भर्नु र यस प्रकारका
सानासाना गृहस्थीमा परी परी आउने काम गर्नु ।
जस्तोसुकै घर भए पनि ठूला केटाकेटीहरूको कोलाहल, आमा सानीमा, फुपूहरू कहिल्यै नसिद्धिने कहानी, बैठकमा बसेर तास खेल्ने या पासा
खेल्ने वयस्कहरूको हाँसो र विनोद, जाँगरिलाहरूको अह्राइ–पराइ, नोकर चाकरहरूको बाझबाझ अपराह्नमा
त्यस्तो एउटा सानो घडी आउँछ जब अचानक परिवारका परिचित शब्द र ध्वनीहरू शान्त
हुन्छन् । परिवार मात्रै किन ? सम्पूण गाउँमा हठात् एउटा शब्दहीनताको बाक्लो पर्दा पर्छ ।
चराचर मौन भएर थामिन्छ । पन्छीहरू पनि आफ्ना आफ्ना गुँडमा निःशब्द भएर पर्खिएका
जस्ता हुन्छन् । नीरवताको सर्वव्यापी साम्राज्य एकछिनका लागि विशवमा स्थापित हुन्छ, त्यस्तो नीरवता जसमा चेतना झन्
तीव्र भएर सजग हुन्छ केही घटनाको आशा र आशङ्कामा पर्खेर बसेको जस्तो । त्यस
विश्पव्यापी नीरवतामा कुनै सानो शब्द पनि ठूलो विस्फोटको साथ गर्जिन्छ, र आशङ्कित आकुलताले मुटु ढुकढुक
गर्न थाल्छ । के हुन आँट्यो ?
म कोठामा एक्लै एउटा सानो सुकुलमा पल्टिरहेको थिएँ । कुनैबेला
म त्यहाँ आएर पल्टेँ, कुनबेला
आमाहरूको गुनगुन शब्द कोठा कोठामा थामियो, बैठकको खेल कहिले रोकिएछ, मैले थाहा पाइनँ । एकैचोटी के
थाहा पाउँछु भने म एक्लो कोठामा छु । वातावरको निस्तब्धाका प्रचण्ड छ । साथी
सहपाठीहरू कोसीको चिसो बालुवामा खेल्न र पानीमा पौडिन गए होलान्, मलाई उनीहरूले बिर्सेछन् । म पनि
कसरी उनीहरूबाट छुट्टिएछु । मेरो प्रिय साथी मिट्ठुले त बोलाउनु पर्ने ? मनमा कुनै विचार पनि दृढताकासाथ
जन्म पाउँदैनथ्यो, गहिरो
नीरवताको सतहमा कागजका टुक्राका डुङ्गाजस्ता आउँथे, बग्थे । केवल अनुभव हुन्थ्यो प्रचण्ड
निस्तब्धाको – त्यस्तो गाढा निस्तब्धता जसलाई मानौँ म लेटीलेटी हात उठाएर छुन
सक्छु । यस्तै निस्तब्धताको घडीमा मौका छापेर भूतप्रेत र अनेकानेक अशरीरी जीवहरू
प्रकट हुन्छन् । अशरीरी जीवहरूको कुरा मनमा एकछिनको लागि आयो । सान्नानीले भनेको बोक्सीको
कुरा पनि झल्याँस्स सम्झेँ । समसानमा हाड चबाउने कालो थुतुनो भएको बोक्सीको कुकुर
पनि मनमा आयो । किचकन्याहरूको पल्टेको गोडा र छातीमा उम्रेको सिङ पनि नीरवताको
बाक्लो पर्दामा छायाँजस्तै मैले देखेँ । तर डर भने मलाई लागेन । एकान्तता त्यति
गम्भीर थियो कि भय र अभयको भावना केवल सतहमा पुग्ने तृणजस्तो हलुको लाग्थ्यो ।
कहीँ केही शब्द छैन– ध्वनिहीन चराचर – एउटा रहस्यमय भएको थियो । कि करक्क ढोका
उघ्रियो । हुन त ढोका, बिस्तारै
घचेटिएर उघ्रेको थियो, तर जुन
त्यो नीरव वातावराण्को रहस्यमय लोका शब्द–शरीरविहीन जीवहरूको हलचल चलिरहेको थियो त्यसमा
ढोकाको सानो शब्द तोप पड्केको जस्तो मेरो कानमा गज्र्यो । म झसङ्ग भएँ– मुटु
ढुकढुक भयो । के हुन आँट्यो ?
मेरो आशङ्का निरर्थक रहेछ किनभने कोठामा प्रवेश गरी –सानो
बाल्टिनमा गोबर–माटा र्यालेको पानी र लुँडो लिएर फगुनी । भनी, “सानोबाबु म कोठा लिप्न आएकी । उठ
।” तबसम्म मेरो घबडाहट बिलाइसकेको थियो । मसाधारण स्थितिमा आइुसकेको थिएँ । अल्छी
लागेर म पल्टिरहेँ । फगुनीले फेरि भनी, “ल,ल, चाँडै उठन बाबु । मलाई अबेर हुन्छ ।”
मैले
फगुनीलाई हेरिमात्र रहेँ केवल आलस्यले ।
“किन
हेरिरहेको यसरी मलाई ?”
मैले त्सै भनेँ, “आज नयाँ धोती लाएकी छै नि ?”, साँच्चि नै त्यसले नैनकिलाटको
सेचो धोती लगाएकी थी । उसले भनी, “आज नयाँ धोती लगाउन मन लाग्यो । यसको माड पनि राम्ररी निख्रेको
छैन । राम्ररी पिट्न पाइनँ । राम्रो छ हगि ?”
छ ।
उसका खैरा आँखा चम्के । निलो या कालो आँखामा जति अतलताको भान
हुन्छ, त्यति खैरो
आँखामा हुँदैन, ठीक होः तर
विनोदताको टलक खैरो आँखामा छिटै टल्किन्छ । त्यही टलक आज मैले उसको आँखामा देखेँ ।
जीवनमा पहिलो अवसर थियो मेरो लागि जब कसैको आँखापट्टि मेरो ध्यान गएको थियो र उसको
दृष्टिको अनुभव मलाई हुन लागेको थियो । आँखा कस्ता खैरो हुनसक्छ र कति विनोदमय !
त्यस दिन फगुनीको दृष्टिले मलाई बोध गरायो ।
“धत्, तिम्रो
दुलहा छ, मलाई थाहा
छ । हँ फगुनी, दुलहासँग
किन बस्दिनौँ तिमी ?”
आजकी फगुनीको विनोदपियता पनि अनौठो थियो । जसका बारेका विनोद, हाँसो र ठट्टाको कल्पना गर्न
सकिँदैन त्यसमा हठात् यो प्रवृत्ति देख्दा एकछिन् मानव चरित्रको रहस्यका प्रति
आश्चर्य लाग्छ । फगुनीलाई आज के भएको छ, एकदम वाचाल उठेकी छे । भन्छे,“एक्लै के बसेको बाबु, साथीहरूसित खेल्न नगएर” र ठट्टा
गरेर फेरि भन्छे, “ एक्लै मन
लाग्छ बस्न दुलही नभएर ।”
विवाह, दुलही, प्रेम यस्ता सम्बन्ध हुन् जसबारे
त्यस उमेरमा मलाई त्यसै लाज लाग्थ्यो । यी शब्दहरूले कुन मार्मिक सम्बन्धलाई
लक्ष्य गर्छन् त्यो त म राम्ररी बुझ्न पनि सक्दिनथेँ तर यत्ति कुरा त बुझेको थिएँ, यिनले कुनै गोपनीय सम्बन्धलाई
लक्ष्य गर्छन् जसमाथि सदासर्वदा लज्जाको आवरण परेको हुन्छ । यो यस्तो वर्जित लोक
हो जसमा केवल निर्लज्जतासँग हामीभन्दा, बूढापाकाहरू मात्र प्रवेश गर्छन् । मेरो
कान लाजले रातो भयो ।
मैले भनेँ,“ धत्! ”
फगुनीले
निशचय नै मेरो विव्रत–सङ्कटावस्थालाई बुझीहाली । ऊ मरी मरी हाँस्न थाली । मेरा कान
झन् राता हुँदै गए, उसको हाँसो
उतिउति बढ्दै गयो । जतिसुकै मलाई लाजले थिचे पनि तापनि फगुनीको निमर्म हाँसोले
मेरो गर्वाहत गर्यो । मैले
पौरुष झिकेर सोधेँ,“ तिम्रो
दुलहा खोइ नि ?”
उसको हाँसो
त थामियो, तर एउटा
विचित्र आकृति गरेर ऊ मुस्कुराई ।
भनी, “तिमी ”
मैले फेरि
भनेँ, “धत् !”
उसको आँखाको रङ देख्दादेख्दै बद्लिएको जस्तो लाग्यो । अलिक
काला भए त्यसका आँखा । पालुवा हाल्नुभन्दा पहिले पतझडमा खैरिँदै गएको वृक्ष
समूहमाथि बादलको छायाँ परेको जस्तो धमिलो । त्यतिमात्र परिवर्तन त्यसको आँखाको आयो
। तर मलाई लाग्यो – कुनै एउटा ठूलो कुराको वेगलाई उसको शरीरले सम्हाल्न थालेको छ ।
ऊ काँप्याजस्तो गर्थी ।
मैले भनेँ, “धत्, तिम्रो
दुलहा छ, मलाई थाहा
छ । हँ फगुनी, दुलहासँग
किन बस्दिनौँ तिमी ?”
“मेरो चुमौन (चुम्बन) मात्र भएको छ । गौना भएको छैन ।”
“चुमौन के ?”
चुम्बन !
युगल ओष्टद्वयको सङ्गम तीर्थ ! दुई हृदयको आफ्नो आफ्नो आफ्नो शरीर सीमामा आएर
चिह्ना परिचय । नौ दस वर्षको बालक चुम्बनको महात्म्य के जान्दथ्यो र ! उसलाई यति
मात्र अस्पष्ट रुपबाट थाहा थियो कि विवाह, पति, पत्नी र प्रेमसँग सम्बन्ध राख्ने वस्तु
हो – चुम्बन, र ती
कुराहरूजस्तो गोपनीय र लज्जायुक्त !
उसले भनी, “सानै केटाकेटीमै हाम्रो चुमौन
हुन्छ, वर र
केटीको रगत रगत जोर्छन, दुवैको
कान्छी औँलामा सानो घाउ पारेर दुइटैको औँलोलाई आपसमा दलिदिन्छ् । पछि ठूलो भएर
दुलहाले गौना गरेर केटीलाई लैजान्छ ।”
मैले पल्टी
पल्टी सोधेँ, “ तिम्रो
दुलहाले तिमीलाई लिन किन आएन ?” ऊ एकचोटि कापेजस्तो गरी र व्यग्र भएर भनी, “ल,ल, उठ चाँडै, मलाई कोठा लिप्नुछ ।”
“भनी हालेँ नि”, हाँसेर भनी, “तिमी मेरो दुलहा !”
अनि हठात्
कठोर मूर्तिवत् भई । उसको हाँसो एकदम बिलायो ।
यद्यपि
शब्दले मलाई हतार गराउने चेष्टा त गर्थी तर कामले भने तरखर थिएन उसमा । केवल एउटा
विचित्र दृष्टिपात गरिरही म उपर । उसमा विनोदको उल्लास अब थिएन र मलाई दुलाहा भनेर
जिस्काउँदा उसका आँखा टल्किदैन थिए । केवल कालो बादलको छायामा त्यसमा पर्दत्यो ।
शरीर र दृष्टिमा आमोदको सट्टा एउटा कठोरता आएकाजस्तो मलाई लाग्यो । कोसीमा बाडीको
पहिलो हुल आउँदा नदीमा जुन एकप्रकारको तनाव देखिन्थे त्यस्तै तनावले हाम्रो
इलाकामा एउटा आशङ्काको लहर फैलिन्थ्यो । सानो आशङ्काको लहर मेरो शरीरमा पनि फैलियो
। मैले “धत् !” भनेँ र उठेर बसेँ, फेरि त्यस्तै भनेँ “धत् !”
उसको शरीर झन् कठोर भयो, उसको दृष्टि झन कालिमामय । उसको वाणीमा
अनायास शसष्कता आयो । धोद्रो बोलीमा उसले सोधी, “यहाँ अरु त कोही छैन ? तल नि ?” हठात् जुरुक्क उठेर ऊ कोठा कोठा
हेर्न थाली । शिरबाट झरेको आँचललाई बडो दृढतासँग कम्मरमा बाँधी, उसको रुक्ष केश काँधमा खस्यो ।
उसको व्यग्रताले यताउति गरेको भयोत्पादक थियो । आँखा काला निभेका कोइलाजस्ता भए
जसबाट चमक एकदम लुप्त थियो । तल हेरेर फेरि मेरो कोठामा फर्किएर आउँदा उसको
अनुहारको गोरोपन कुन्नि कहाँ लुप्त भइसकेको थियो । त्यसको ठाउँमा बैगनी वर्ण
पोतिएको थियो । आँखा दुइटा गहिरो जलशून्यताजस्ता भास्सिएका थिए । दम फुलेर त्यो स्वाँ
स्वाँ…गरिरहेकी थिई । धोती त उसको सफा थियो तर उसले लगाएको चोलो तेल, पसिना, धुलो र गृहस्थीका सानातिना कामले
मैलोधैलो भइसकेको थियो । धोतीको फुर्कोलाई उसले कम्मरमा कसेर बेरेकी थिई । छातीमा
भयङ्कर रौद्रताले कालो चोलोबाट उसको यौवनन्हि हरिणीको टाउकोमा उम्रेको सिङजस्तो
कठोर र तीक्ष्ण भए । कोसीको बिरानो बालुवाका तट्मा हठात् उठ्ने हावाको भुवँरीजस्तो
हुरिँदै त्यो मनिर आई । “तिमी मेरो दुलहा !” त्यही हावाको भुवँरीजस्तै तातो निशवास, त्यही बिरानो ठाउँको कुनै अतृप्त
अशरीरी जीवको हृदयलाई कँपाउने किसिमको उच्छवास् !
म भयले चिच्याएर उठेँ र कोठामा यताउति भाग्न थालेँ । मेरो भय
अतक्र्य थियो, बुद्धिप्रेरित
थिएन, अस्तित्वको
मध्यबाट चिरिँदै उम्लिएर उठेको भय । मानव अहिलेसम्म पनि असाहय नै छ बालक, प्रकृतिको बीचबीचमा उघ्रिएको
बिराट् रुपको दर्शनले अत्याहाटमा आएर भयग्रस्त । प्रकृतिको कुनै पनि नग्न रुप, जुन रुपसँग मानव अभ्यस्त भइसकेको
हुँदैन ।
त्यस दिन फगुनी थिइन्ँ । त्यो कोसीको नदीको त्यस्तो भङ्गालो
भएकी थिई । जो बाढीमा प्रलयको वेग लिएर उर्लिन्छ । र उग्र, भयङ्कर, प्रलउकारी हुन्छ, जब त्यसले मानिसका प्रति उन्मक्त
भएर सबैलाई निल्दै हिँड्छ हाहाकार मच्चाउँदै । त्यस्तै श्वेत भैरवीका जाग्रत भएकी
फगुनीको जटा हावामा फैलिएको, आँखा निभेको आगो, चरणमा ताण्डवको शक्ति, कालो निलो थियो । वक्षमा
शृगाङ्कुर, खुलेको
मुखको गुफाबाट तप्त उच्छवासको बाफ । श्वेत भैरवी–फगुनी । म भागिरहेको थिएँ ।
कातरभीत बालक । उन्मुक्त यौनका अँध्यारो भीरबाट तर्सेर श्वेत भैरवी मेरो खेदो
गरिरहेकी थिई । लाग्यो, भागिरहेका
मेरा गोडा भासिइरहेछन् । भीरमाथिको गर्त मलाई निल्न झन्झनु ठूलो मुख बाउँदै आइरहेछ
– कोसीको असंयमित बाढीजस्तै । उसको हात गोबर र हिलोले कुहिनासम्म मुछिएका छन् र
त्यसलाई बारबार माथि उडाउँथी ऊ, खड्कबाहु कालीजस्ती । कहिले हो कुन्नि भुइँमा राखेको बाल्टिन
उसको गोडामा ढलेछ, बाल्टिनबाट
निस्केको काँटीले उसको गोडा चिरेछ । रगत र हिलो मिस्स्एिको गोडाको डाम भुइँभरि
थियो । उसको नयाँ धोती पनि काँटीले च्यातेछ । तर ऊ सुद्धि हराएजस्ती भएर मलाई
खेदिरहेकी थिई । म
भागिरहेको थिएँ ।
हे ईश्वर मलाई बचाऊ, बचाऊ श्वेच भैरवीको दानवी नङ्ग्राबाट ।
म भट्टिन्छु उसको उन्मुक्त उच्छवासको भट्टीमा । म उनिन्छु उसको छातीको सिङमा, बचाऊ मलाई ! मेरो बालको हृदय
दन्त्यकथाका भूतप्रेत र् दानव, किचकन्या, श्मशानवासी वायुहरूको कल्पनाले भयभीत भएर उठ्यो । म सङ्ज्ञाहीन
हुँलाजस्तो भए । आँखा चिम्लेर त्राणको अन्तिम मार्ग समातेर माथिबाट हाम्फालेँ ।
तल बारीमा
घेर्ने भनेर बाँसहरू थुपारेर राखेको थियो । त्यहीँनिर खस्न पुगेँ । एउटा तिखो
बाँसको टुप्पोले मेरो दाहिने घुँडाको ठीक्क तल गहिरो घाऊ पारेर चिर्यो । रगतको भेल
बग्न थाल्यो ।
जुन अकस्मात् ढङ्गबाट यो तुफान रचिन गएको थियो त्यस्तै
अकस्मात् ढङ्गबाट त्यो शान्त पनि भयो । कोसी नदी मानौ पुनः आफ्नो स्थानमा फर्केर
आइन् र मन्द गतिले बग्न थालिन् । मानौँ वर्षाको प्रलयसँग उसको वास्ता थिएन । फगुनी
मनिर आएर उभिई । शान्त, अनुद्विग्न, शीतल हाँस्यका साथ श्वेतवर्ण
ग्रामतरुनी फगुनीले मलाई सोधी, “ सानो बाबु, धेरै चोट लाग्यो कि ?”
उसका खैरा आँखा आफ्नो स्वभाव पुनः प्राप्त गरिसकेका थिए, शरीरले आफ्नो पाकृतिक वर्ण, त्यसमा अब तनाव थिएन । सिङको
स्थानमा तरुनीको शोभायमान उभारमात्र लागेको थियो तर त्यो गृहकार्य निमग्ना नारीको
स्वाभाविक लक्षण थियो । लेलहाकी दुहिता, चुमौन भइसकेकी तर द्विरागमनका लागि
पतिको प्रतीक्षा गर्दै बसेकी हाम्री नोर्कनी –फगुनी ।
लाजको स्पष्ट कारण मैले बुझ्न नसकेको पनि उसको लागि दुर्बोध
थिएन । यसो मलाई आखिरीचोट हेरेर माथि कोठामा लिप्न भनेर गई ।
तर जे होस्, एउटा ठूलो हुरी त बग्यो केही छिन पहिले । हामी दुवैलाई अज्ञात
रूपबाट वृक्षलाई हल्लाएकोझैँ गरेर उत्ताउने गरेर सेलाएर गयो । के त्यो बिर्सिने
कुरा थियो ? जुन तुफान
र आँधीबेहेरीको एकान्त अनुभव केवल हामी दुवैलाई मात्र भयो । शरद्को त्यो अपराह्नमा, के त्यसले हामीलाई निर्दोष रहन
दिन्छ ? के त्उसले
एउटा रहस्मय सम्बन्धमा एउटा गोपनीयताभित्र हामीलाई बाँधेर हामीलाई बाँधेर गएन ? त्यो भर्खरैको अनुभव हाम्रो आफ्नो
निजी कोष हो, त्यसमा अरू
कसैलाई साझेदार गराउन उचित हुने छैन । अरुले यो कुरा थाहा पाए भने मेरो बालक मनमा
लाज होला भन्ने कुरा मात्र आइरह्यो । कसैले थाहा पाए भने लाज होला । किन लाज होला
यसको विवेचना गर्ने बुद्धि ममा पलाइसकेको थिएन । लाज होला, कसैले थाहा नपाऊन् भनेर मैले भनेँ, “मलाई ठीक छ, फगुनी, तिमी जाऊ ।”
फगुनीले त धेरै कुरा बुझिहोली । लाजको स्पष्ट कारण मैले बुझ्न
नसकेको पनि उसको लागि दुर्बोध थिएन । यसो मलाई आखिरीचोट हेरेर माथि कोठामा लिप्न
भनेर गई ।
एकछिनपछि मिट्ठुले मलाई त्यस अवस्थामा पाए । मेरो घाउ धोइयो ।
पानीपट्टी बाँधियो । घाउ निको हुन धेरै दिन लाग्यो । चोट लागेको दिन घरमा काफी
हल्लीखल्ली मच्चियो । तर कसैले पनि फगुनीमाथि श्वेत भैरवी चडेको कुरा थाहा पाएनन्
। केहीदिन पछि घाउ भरियो ।
एकदिन म लेलाहाको घरनिर कोसीको त्यो भङ्गालोलाई तरिरहेको थिएँ, त्यसमा घुडासम्म मात्र पानी थियो
। निर्मल पानी । धोती घुँडामाथि सारेर पानीमा रमाइलो मान्दै गोडा चालिरहेको थिएँ ।
घाउ भरिइसकेको थियो । र रातो खाटो टाढैबाट टल्किन्थ्यो । फगुनी आफ्नो आङ्ना
अगाडिको आँपको रूखमुनि उभिएर टाढैबाट मलाई आएको हेरिरहेकी थिई । नदी तरेर ऊनिर
आएपछि उसले भनी – “चुमौन भनेको तिमीले राम्रोसँग बुझ्यौ होला । रगत रगतको मेल ।
त्यस दिन तिम्रो रगत र मेरो रगत बाँसको थुप्रोमाथि मिस्स्एिको थियो ।”
मैले
हाँसेर भनेँ, “गौनाका
लागि धेरै दिन पर्खनुपर्छ होइन ?”
उसले भनी, “चुमोन मुख्य कुरा हो, तर जे होस् मैले यस्तो किसिमबाट डामेर
छाडेकी छु कि आजीवन त्यो दाग तिमी आफ्नो जीउमा धारण गरेर हिँडिरहने छौ । मैले पनि
त्यस पागल क्षणको चिह्न शरीरमा लिइराखेको छु ।”
नभन्दै
उसको गोडाको घाउ अझै निको भएको रहेनछ ।
आज धेरै दिनपछि, पैँतीस वषपछि, घुँडाको खाटोलाई हेर्दा फगुनीको
सम्झना हुन्छ । कहाँ छ त्यो ? बाँचेकी नै छ ? गौना कहिले भयो होला ? उसको पतिले श्वेत भैरवीको दर्शन
पायो कि पाएन होला ?
कोसीको त्यो भङ्गालो, त्यो हुर्किन नसकेको रूख, र लेलहा केवटको के हाल छ आजकाल ?
कथाको सन्दर्भः
१.मान्छेको मनमा अवचेतन रूपमा गुम्सिएर रहेको याैनच्छा अवशर पाउनासाथ कुनहदसम्म उन्मत्त हुन खोज्छ भन्ने शन्दर्भमा यो कथा रचिएको छ ।
२.केवट जाती र उनीहरूको भोगाइ तथा सँस्कृतिको सन्दर्भलार्इ पनि समेटेको छ ।
पात्रहरूः
म(सानोबावू),फागुनी,लैलहा केवट,मिट्ठू,अामा,फुपू,फागुनीको दुलाहा
कथावस्तुः
कोसीकिनारामा फागुनीका बावुछोरी एउटा झुपडीमा गुजरा गर्दै अाएका हुन्छन्। सानै उमेरमा फागुनीको चाैमन भएपनि अार्थिक अभावका कारण उसको गाैना हुन सकेको हुदैन ।अाफूमा भएको याैन चाहनालार्इ दवाउदै अाएकी फागुनीको सानोबावूलार्इ एकान्तमा देखेपछि एकासि उभित्रका याैनकुण्डाहरू श्वेत भैरवी चडेको जस्तोगरी अव्यवस्थित रूपमा प्रदर्शन हुन्छ ।एकातिर सानोबावूको मनको डर अर्कोतिर फागुनीको अावेग दुवैको मनलार्इ शरीरमा लागेको चोट र रगतले शान्त पारेको प्रशङ्गसँगै कथावस्तुको अन्त्य भएको छ ।
पात्रको चरित्र चित्रणः
१.फागुनी
प्रमुख नारी पात्र,
लेलहा केवटकी छोरी,
शानैमा अामा गुमाएकी एक्लो अभिभावककी एक्ली सन्तान,
निम्नवर्गीय छोरीको प्रतिनिधित्त्व,
चाैमन भएर गाैना गर्न नपाउदा दविएर अतालिएकी नारीहरूको प्रतिनिधि पात्र,
शरल श्वभाव भएका महिलाहरूपनि अतृप्त याैनइच्छाका कारण श्वेतभैरवीको रूपधारण गर्ने हुन्नछन् भन्ने देखाउने पात्र।
२.म(सानोबावू)
प्रमुख पुरूष पात्र
बाल चरित्र
स्थिर
मञ्चिय
३.उद्देश्यः
क.दमित रूपमा रहेको कामेच्छालार्इ चेतन मनले नियन्त्रण गरेपनि कुनै अवसर पायो भने उग्ररूप लिनसक्छ भन्ने देखाउनु,
ख.अार्थिक अभावका कारण उमेर पुगेका सहि समयमा छोराछोरीलार्इ बिबाह गर्न पनि नसकिने वर्गीय समस्यालार्इ उजागर गर्नु,
ग.याैन सहजताले मानिस सिर्जनशिल बन्छ भने याैन कुण्ठाले मानिस अस्वस्थ रहन्छ भन्ने चेतना दिनु।
४. परिवेशः
पूर्वीतरार्इको कोसी नदी र त्यहाको अासपासको क्षेत्र,
ग्रामिण समाज,
वि.सं.२०१८ सालतिरको समय,
अार्थिक अभावले दयनिय अवस्थामा गुजारा गरेका केवट जातिको अवस्था,
चाैमन, गाैना जस्ता सामाजिक परम्परा र त्यसबाट पिडित महिलाको मानसिक अवस्था,अादिलार्इ देखार्इएको छ।
५. दृष्ट्रिविन्दुः
प्रथम पुरूषीय संमरणात्मक शैलीमा लेखिएको उक्त कथा अान्तरिक परिधिय दृष्ट्रिविन्दुमा रचना भएको छ ।
६.शीर्षक सार्थकताः
फागुनीमा देखिएको कामातुर,उन्मत्त रअाक्रमक रूपलार्इ भैरवी र उसको सेतो रूपलार्इ श्वेत अर्थात श्वेत र भैरवीलार्इ जोडेर श्वेत भैरवी शीर्षक राअखिएको अर्थात फागुनीलार्इ श्वेत भैरवीको रूपमा उभ्याएर उसैको पेरिफेरिमा कथाको कथानकलार्इ टुङ्ग्याइएको हुनाले कथाको शीर्षक शार्थक देखिन्छ ।