रविवार, 3 अक्टूबर 2021

नेपाली उपन्यासको विकासक्रम

 


नेपाली साहित्यमा अन्य विधाहरुका तुलनामा उपन्यास विधाको सुरूत निक्कै पछि मात्र भएको हो । उपन्यास आख्यानात्मक विधा भएकोले नेपाली उपन्यासको प्रारम्भ बिन्दु बि.सं.१८२७ को शक्तिबल्लभको आख्यानात्मक कृति ' महाभारत विराट् पर्व ' बाट भएको मानिन्छ । यसलाई तीन खण्डमा बाँड़ेर हेर्न सकिन्छ !

१. प्राथमिक काल ( वि.सं. १८२७ -१९४५ )

२. माध्यमिक काल ( १९४६ - १९९० )

३. आधुनिक काल (१९९१ - हालसम्म )

प्राथमिक काल ( १८२७ - १९४५ )

 

शक्तिवल्लभ अर्यालको ' महाभारत विराट पर्व '( १८२७) बाट नेपाली अख्यान परम्पराको सुरूआतसँगै उपन्यासको सुरूवात भएको मानिन्छ । यसकालमा 'महाभारत विराटपर्व ' पछि अन्य आख्यानात्मक कृतिहरुमा भानुदत्तको ' हितोपदेस मित्रलाभ '( १८३३), शक्तिवल्लभको ' हास्यकदम्व '( १८५५), भवानीदत्त पाण्डेको ' मुद्रराक्षस '( १९६८ ),रामचन्द्र पाध्याको ' लक्ष्मी धर्मसंवाद ' (१८५१) गंगाप्रसाद प्रधानको ' नेपाली बाइबल ' १९४० आदि उल्लेखनीय छन्।

यस कालका पन्यासिक प्रवृत्तिहरू

१.       यसकालमा देखापरेका यी कृतिहरु विशुद्ध औपन्यासिक कृति नभएर आख्यानात्मक कृति मात्र हुन् ।

२.       यी कृतिहरु धेरैजसो संस्कृत र केही मात्र अंग्रेजी भाषावाट अनुवाद गरिएका छन् ।

३.        यसकालमा मौलिक कृतिहरु देखा परेका छैनन् ।

४.        मनोरञ्जनात्मक ,राजनीतिक ,सामाजिक ,नैतिक एवं धार्मिक भक्तिभाव यी उपन्यासमा व्यक्त भएका छन् ।

५.        समग्रमा यस कालका कृतिहरु शिल्पगत प्राप्तिमा भन्दा आख्यान - कथनमा बढी केन्द्रिय छन् !

माध्यमिक काल ( १९४६ - १९९० )

 

बि.सं.१९४६ मा शिवदत्त शर्माद्वारा अनुदित  बिरसिक्का (१९४६) प्रकाशित पछि वि.सं.१९९० सम्मको अवधीलार्इ नेपाली उपन्यासको माध्यमिक कालको रूपमा हेरिन्छ ।उर्दु - फारसी साहित्यको रोमाञ्चकारी प्रवृति सहित देखापरेको ' बिरसिक्का ' पछि अज्ञात लेखकको ' बेताल पच्चीसी ' (१९५२) ,नरदेव पाण्डेको ' नलोपाख्यान ' (१९५६) ,सदाशिव शर्माको ' महेन्द्र प्रभा' (१९५९) , चन्द्रकान्त ' (१९५६) ,नरेन्द्र मोहिनी (१९५८) , गिरिशबल्लभ जोशीको ' बीर चरित्र '( १९६०) आदि पन्यासिक कृतिहरू देखापरे ।

वि.सं.१९५८ बाट गोर्खापत्रको प्रकाशन सँगै जासुसी ,तिलस्मी उपन्यासहरु पनि देखा परे ।  ' सुन्दरी पत्रिकामा प्रकाशित मधुवाली (१९६३) , 'सुन्दरी भूषण ' (१९६३) उपन्यासहरु लगाएत पदमनाथ सापकोटाको 'डा .सूर्यप्रसाद ' (१९७२) ,पहलमानसिंह स्वाँरको 'एक लाख रुरियाँको चोरी ' (१९७२) र प्रतिमानसिंहको लामाको ' महाकाल जासुस ' १९७५ आदि कृतिहरु पनि महत्वपूर्ण मानिन्छन् ।यस समयमा चिरञ्जीवी पौड्यालको प्रेमसागर (१९४७) ,नरदेव पाण्डेको 'मेरिना चरित्र ' (१९५९) ,तीर्थप्रसाद अर्यालको ' बेदान्तसार '( १९६०) ,ऋद्धिबहादुर मल्लको 'शर्मिष्ठा '( १९८५ )जस्ता धार्मिक र नैतिकतासंग सम्बन्धित उपन्यास तथा द्वारिकानाथ उपाध्यायको 'यमपञ्चक ' १९६३ ,बैजनाथ सेंढाईको 'चक्र परिक्रमा ' (१९७३) , ,पहलमानसिंह स्वांरको 'पदमकुमारी '( १९७४) ,वेदनाथ आचार्यको 'दायकी, भावी ' (१९७९ ),महानन्द सापकोटाको ' त्रिवेणी ' अम्बालिका देवीको ' राजपूत रमणी ' (१९८९) आदि सामाजिक सुधारका भावनाले प्रेरित उपन्यासहरु निर्माण भएको पाइन्छ।

यस समयका प्रवृत्तिहरू

१.यतिवेला मूलत : उर्दू-फारसी साहित्यबाट प्रेरित ,प्रवृतिगत दृष्टिले तिलस्मी र जासुसी, रोमाञ्चकारी कल्पना ,अद्भूत वर्णन ,मानव र मानवेतर पात्रको प्रयोग ,अस्वाभाविक र अतिरञ्जनात्मक घटनाको वर्णन भएका छन् ।

२. केही धार्मिक र सामाजीक सुधारात्मक उपन्यासको पनि रचना भएको पाइन्छ ।

३.  अनुवादका अतिरिक्त केही मौलिक कृतिको रचनाको साथै नेपाली परिवेश र नेपाली चरित्रलाई लिएर उपन्यासको रचना गर्ने काम भएको पाइन्छ ।

 

आधुनिक काल ( १९९१ - हालसम्म )

नेपाली उपन्यासको आधुनिक काल रुद्रराज पाण्डेको ' रुपमती ' (१९९१) को प्रकाशनसंगै भएको मानिन्छ । यसले आदर्शवादलाई पूर्णत : त्याग गर्न नसकेको भए पनि माध्यमिक कालीन प्रवृतिलाई त्याग गरी बिषयवस्तु शैली तथा संवादमा स्वभाविकता र यथार्थता प्रदान गरेको छ । यस समयमा थुप्रै धारा तथा प्रवृतिहरु दैखापरेका छन् जसलाई निम्नअनुसार चर्चा गर्न सकिन्छ :-

आदर्शोन्मुख यथार्थवादी धारा

नेपाली समाजको चित्रण गर्दै आदर्शप्रेरित चरित्रलाई लिएर ' रुपमती ' (१९९१) उपन्यास देखा परेपछि दर्शोन्मुख यथार्थवादी धाराको सुरुआत भएको हो ।सामाजिक एवं पारिवारिक समस्यालाई प्रस्तुत गर्दै समाधानका लागि आदर्शवादी स्वर दिनु यस धाराको प्रवृतिगत विशेषता हो । रुद्रराज पाण्डेको 'रुपमती ' (१९९१) , चप्पाकाजी (१९९३) ,प्रायश्चित (१९९३) ,प्रेम (२००५) ,लगायत यस धारामा देखापर्ने अन्य उपन्यासकार र उपन्यासहरु काशीबहादुर श्रेष्ठका 'उषा '( १९९५) ,वचन (२००१) ,टुकराज पदमराज मिश्रका ' राजबन्धकी '( १९९६) र रामकृष्ण कुँवर राणा (१९९९) ,शोभाचन्द्र उपाध्यायको ' पाटलीपुत्र '( २००३) ,सुरेन्द्रबहादुर शाहको 'पारिजात ' (२००३) मोहनबहादुर मल्लको ' समयको हुरी ' (२०१५) आदि रहेका छन् ।

स्वच्छन्दतावादी धारा

नेपाली साहित्यको उपन्यास विधामा स्वच्छन्दतावादी धाराको सुरुआत रुपनारायण सिहंको ' भ्रमर ' (१९९३ )उपन्यासबाट भएको हो ।यथार्थ वर्णनबाट पर रहेर प्रकृति ,प्रेम ,कल्पना ,ईश्वरीय शक्ति ,आदिलाई बिषयवस्तु बनाएर त्यसलाई आलङ्गरिक भाषाका साथ सौन्दर्यपूर्ण तरिकाबाट वर्णन स्वच्छन्दतावादका मूल प्रवृति हुन् ।

रुपनारायण सिंहको 'भ्रमर ' का साथै मोहनबहादुर मल्लको 'उजेली छायाँ ' (२००८) अच्छा राई रसिकको 'लगन ' (२०१२) र दोभान (२०१२) , शिवकुमार राईको ' डाकबंगला ' (२०१४) र तुलसीराम कुँवरको ' जीवन ' (२०२०) ,कृष्णसिंह मोक्तानको 'अशेष यात्रा '( २०२१) , प्रियादर्शीको 'पोखिएको जिन्दगी ' (२०२८) ,हिरण्य भोजपुरेको 'छिटोन ' (२०५४) आदि यस धाराका उपन्यासहरु हुन् ।

सामाजिक यथार्थवादी धारा

निम्नवर्गीय सामाजिक जीवन र आर्थिक संघर्षलाई बिषयवस्तु बनाएर समाज जस्तो छ त्यस्तै चित्रण गर्ने प्रवृति भएका उपन्यासहरु सामाजिक यथार्थवादी धाराका उपन्यासहरु हुन् । नेपाली उपन्यास परम्परामा पूर्ववर्ती धाराका आदर्श र रोमान्टिक प्रवृतिलाई परित्याग गरी यस धाराको लेखन प्रारम्भ भएको देखिन्छ । यस धाराका सुरुआत लैनसिंह बाङ्देलको 'मुलुक बाहिर ' (२००४) बाट हुव्छ ।बाङ्देलको 'मुलुक बाहिर ' का अतिरिक्त उनकै अर्को उपन्यास 'माइतघर ' (२००७) ,लीलबहादुर ,क्षेत्रीका 'बसाई ' (२०१४) र 'ब्रह्मपुत्रको छेउछाउ (२०४३) ,लीलाध्वज थापाको 'मन ' (२०१५) , शंकर कोइरालाको 'खैरेनी घाट ' (२०१८) ,दौलतविक्रम विष्टको 'एक पालुवा अनेकौ याम ' (२०२६) ,भवानी भिक्षुको 'आगत ' (२०३२) ,आदि यस धाराका उपन्यासहरु हुन् ।

प्रगतिवादी धारा

प्रगतिवाद मार्क्सवादी जीवन - दृष्टिका आधारमा समाजका समग्र पक्षको बिश्लेषण गर्ने साहित्य सिद्धान्त हो । समाजका निम्नवर्गीय पात्र र तिनका आर्थिक क्रियाकलापलाई बिषयवस्तु बनाएर तिनलाई द्वान्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गर्ने उपन्यासहरु प्रगतिवादी उपन्यास हुन् ! परम्परागत धार्मिक नैतिक मान्यताप्रति बिद्रोह ,बैचारिक संघर्ष र क्रान्तिकारिता ,परम्परागत सामाजिक बनोट र मान्यताप्रति कटु आलोचना आदि यस धाराका प्रमुख प्रवृति हुन् ! नेपाली साहित्यमा यस किसिमको स्वर एवं प्रवृत्तिसहित देखापरेका पहिलो नेपाली उपन्यास ह्रदयचन्द्रसिंह प्रधानको ' स्वास्नीमान्छे ' (२०११) हो ।यस धाराअन्तर्गत 'स्वास्नीमान्छे ' का अतिरिक्त ह्रदयचन्द्र प्रधानको अर्को उपन्यास 'एक चिहान ' (२०१७) लगायत खड्गबहादुर सिंहका ' बिद्रोह भाग १ र २ ' (२०११-२०१३) ,दौलतविक्रम विष्टको 'मञ्जरी ' (२०१६) , भोक र भित्ताहरु (२०३८) ,ताना शर्माको 'झेल पर्दा ' (२०२६) ,डी.पी.अधिकारीको आशमाया (२०२५) ,पारिजातको महत्ताहीन (२०२५) ,अनिँदो पहाडसँगै (२०३९) , खगेन्द्र संग्रौलाका चेतनाको पहिलो डाँक (२०२६) ,जूनकीरिको गीत (२०५७) ,रमेश विकलको अविरल बग्दछ इन्द्रावती (२०४०) ,भाष्करका बन्दी आवाज (२०४३) ,हाडिका कनिका (२०४५) ,अमरवस्ती (२०५३) आदि यस धाराका उपन्यासहरु हुन् ।

मनोबैज्ञानिकवादी /मनोविश्लेषणवादी धारा

मानिसको मनका भावावेगहरुलाई बिषयवस्तु बनाई लेखिएका उपन्यासहरु मनोबैग्यानिक उपन्यास हुन् । यस धारा अन्तर्गत मान्छेका चेतन ,अर्धचेतन र अचेतन तहका साथै यौनजन्य चाहना आदिवारे विश्लेषण गरी लेखिएका उपन्यासहरु यस धाराअन्तर्गत आउँछन् । व्यक्तिका मनभित्रका यथार्थको वर्णन मात्र नभएर त्यसका सूक्ष्मतम पक्षहरुको विश्लेषण गर्ने उपन्यासहरुलाई मनोविश्लेषणवादी भनिन्छ । नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल 'गोठाले 'को 'पल्लोघरको झ्याल ' (२०१६) बाट यस धाराको सुरुआत भएको हो ।नेपाली साहित्यमा यस धाराको उत्तरोत्तर विकासका क्रममा विजय मल्लको "अनुराधा " (२०१८) र कुमारी शोभा (२०३९) ,विश्वेश्वरप्रसाद कोइरालाका 'तीन घुम्ती '( २०२५) ,नरेन्द्र दाइ (२०२७) र सुम्निमा (२०२७) ,तारिणीप्रसाद कोइरालाको सर्पदंश (२०२६) ,भवानी भिक्षुको पाइप नम्बर २ (२०३४) ,आदि उपन्यासहरु उल्लेखनिय छन् ।

प्रयोगवादी धारा

परम्परागत उपन्यास रचनाको कथ्य र शिल्पलाई त्यागी नवीन शिल्प र प्रविधिअनुसार नयाँ जीवनदृष्टिलाई प्रस्तुत गर्ने उपन्यासहरुलाई प्रयोगवादी उपन्यास भनिन्छ । उपन्यास रचनामा नयाँ रुपको खोजी गर्ने क्रममा कतै जीवनका विसंगत पक्षलाई बिषयवस्तु बनाइएको छ भने कतै अति यथार्थको चित्रण गरिएको छ र कतै अस्तित्वको खोजी गर्ने लक्ष्य राखिएको पाइन्छ । यी विभिन्न जीवनदृष्टिअन्तर्गत प्रयोगशीलता तथा प्रयोगधर्मिता र स्थापित परम्परागत जीवन मुल्य मात्र नभएर विधागत आदर्शप्रतिको असहमति प्रयोगशील उपन्यासमा पाइन्छ ! नेपालीमा प्रयोगवादी धाराको पहिलो उपन्यास इन्द्रबहादुर राईको " आज रमिता छ " अस्तित्ववादी , विसंगतिवादी (२०२१) हो ।" आज रमिता छ " पछि पारिजातको शिरिषको फूल (२०२२) , डायमन शमशेर राणाको सेतो बाघ (२०३०) ,भरत जंगमको कालो सूर्य (२०३६) ,धुवचन्द्र गौतमको फूलको आतंक (२०५५) , तेह्र जना लेखकको अवतार विघटन (२०४०) आदि यस धाराअन्तर्गत आउँछन् ।

समसामयिक धारा

वि.सं.२०४० सालमा नेपाली उपन्यासमा प्रयोगवाद क्रमश : शिथिल बन्दै गएको देखिन्छ । उपन्यासकारहरुले प्रयोगवादी धाराबाट क्रमश : नवीन शैली र बिषयवस्तुको खोजी गरिरहेको पाइन्छ ! ४०को दशकपछि बिषयबस्तुमा विविधता ,शैलीमा विभिन्नता तथा औपन्यासिक शिल्पमा नवीनताको प्रारम्भ भएको पाइन्छ । यस समयमा प्रवृतिगत निश्चितताको अभाव भए पनि यथार्थको नवीन पक्षको खोजीको प्रयासका साथै युगचेतना ,बिसंगतिप्रति ब्यांग ,बिग्यानप्रेरित बिषयको चयनजस्ता प्रवृत्तिसहित नेपाली उपन्यासको समसामयिक धारा अघि बड़ेको छ । यस धारामा देखा पर्ने उपन्यासकारहरु र तिनका उपन्यासहरुमा राजेश्वर देवकोटाका 'आवर्तन ' (२०४१) ,द्वन्द्वको अवसान (२०४२) ,पूर्वकथा (२०४३) ,उत्सर्ग प्रेम (२०४४) ,निर्मोही व्यासको 'एलबमका पात्रहरु '( २०४३) , गोबिन्द गिरी प्रेरणाको उत्खनन (२०४५) ,सरुभक्तका पागल बस्ती (२०४८) ,तरुनी खेती (२०५४) ,अरुण सायमीको भदीको किनारमा (२०४८) ,धुव सापकोटाको उसको मृत्युको फाइदाहरु (२०५५) ,भाष्करको अचम्मको फैसला (२०५६) ,आदि देखा पर्दछन्  यसरी नेपाली उपन्यास उत्तरोत्तर विकसित हुँदै नवीन शिल्प र प्रवृत्तिहरु सहित अगाडि बढेको छ ।

 

बुधवार, 29 सितंबर 2021

सोमवार, 27 सितंबर 2021

महेशविक्रम शाह र ‘गाउँमा गीतहरू गुञ्जिदैन’। कथाको विश्लेषण

 

परिचय


जन्म – वि. सं. २०२१ भद १५ गते अछाम कालीमाटी

शिक्षा – कानुन र विज्ञानमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तर

सेवा र संलग्नता - प्रहरी सेवामा संलग्न

पुरस्कार तथा संमान – मदन पुरस्कार ,

प्रकाशित कृतिहरू – सटाहा,सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो ,छापामारको छोरो ,काठमाण्डुमा कमरेड कथा सङ्ग्रहहरू

भ्रमण – एसिया ,युरोप र अफ्रिका

कथागत प्रवृत्तिहरू

१.राष्ट्रिय अन्तरराष्ट्रिय परिवेशमा कथा लेखन ,

२. नेपालको पश्चिम पहाडको कठोर सङ्घर्षमय जनजीवनको यथार्थ वर्णन,

३.ग्रामीण जनजीवनको चित्रण,

४.समसामयिक यथार्थवादी,

५. द्वन्दकालको अन्तररङ्गपक्षको प्रस्तुती

६. अस्तित्ववादी चिन्तन

७. विसङ्गति र विकृतिप्रति व्याङ्ग्या

८. आञ्चलिकता तथा स्थानियताको प्रयोग

पात्रहरू

सानोबावु,चुन्नुकी आमा,फुलवा,सानोबावुकी आमा ,हजुरबा,हजुरआमा  -मञ्चिय पात्र

हरेराम,चन्नु, रेसम,बुधराम,सुरजराम,लक्षमन,मधुराम ,चमेली फेरूवा – नेपथ्या पात्र

शीर्षक

अभिधा अर्थमा – गाउँमा वसोबाँस गर्ने मान्छेहरूको मुखबाट गीतहरू गुञ्जीदैनन् ,उनिहरूले गीत गाउन छोडिसकेका छन् भन्ने बुझिन्छ ।

परिवेश

१.पश्चिम नेपालको गाउँ,बस्ती, खेत बनपाखा जङ्गल,कुलो ,कुलेसो आदिको वर्णन गरिएको छ ।

२.सानोबावु गाउँ वस्दा खेल खेलेको ,गीत गाएको,वनजङ्गलमा फूल टिपेको , रमाएको ,खोलामा पौडिएको ,द्वन्दकालमा गाउँ त्रसित वनेको विद्यालय खण्डहर भएका ,आफू जन्मे हुर्केको ठाउँ छोडेर मुग्लान पस्नुपरेको ,सबैजना बाहिर निस्कन नसक्ने अवस्था भएको परिवेशात्मक अवस्थाको यथार्थाता यहा प्रस्तुत भएको छ ।

३.जम्मा २४ घण्टाको समयावधीमा केहि वर्णनात्मक र केहि संमरणात्मक रूपमा प्रस्तुत गरिएको छ

उद्देश्य

१.युद्धका कारण मानिसहरू त्रसित बनेका यथार्थ अभिब्यक्ति दिनु ,

२. २०५२ सालबाट सुरूभएको ससस्त्रद्वन्दका कारण नेपाली जनताले  भोग्नुपरेको नोक्सानीको चित्रण,

३. द्वन्दकै कारण व्याक्तिको जीवन माथिको अधिकार खोसिएको ,गाउँ छोड्नु परेको ,जीवन शैलीमा परिवर्तन भएको पिडा जनक अबस्थाको जानकारी गराउनु,

४. मान्छे उहि भएपनि त्रासको कारण तिनिहरूमा सुन्दरता हराएको ,आत्मियता नभएको, गतिसिलता सकिएको ,सबैका ओठहरू बन्दभएको  देखाउनु ,

५. आफन्तलार्इ भेट्न नपाइने  र आफ्नै गाउँ जान पनि त्रसित बन्नुपर्ने अवस्थाको वर्णन

६. आफ्नो भाबना स्वतन्त्रता पूर्वक व्यक्त गर्न नपाइने ,स्वतन्त्र पूर्वक घरमा वसेर एकछाक खान नपाइने अवस्था सम्म सृजना भएको जानकारी गराउनु,

७. राजनीतिक स्वार्थ प्राप्तिको लागि नागरिकलार्इ बन्धक बनाएको अबस्थाले समाजमा कहिल्यहि शान्ति प्राप्त नहुने चर्चा,

८. शान्ति र सद्भाबबाटै  समाज परिवर्तन हुने गहन भाव व्यक्त

कथाको विश्लेषण

 पेशाले प्रहरी सेवामा अवद्ध भएर पनि साहित्यलार्इ मायाँ गर्ने महेश विक्रम शाहको जन्म २०२२ साल भाद्र १५ गते अछाम जिल्लामा भएको थियो । द्वन्दकालको अन्तर्रङ्गको प्रस्तुति ,विसङ्गति र विकृति प्रति व्याङ्ग्य गर्दै मानव जीवनको अस्तित्वको खोजि गर्नु यिनको कथागत प्रवृति हो । सिपाहिकि स्वास्नी (२०५९),काठमाडौंमा कमरेड (२०६५) तथा छापामारको छोरो आदि कथा सङ्ग्रहरू प्रकाशन गरेका शाहको गाउँमा गीतहरू गुञ्जिदैनन् नामक कथा छापामारको छोरो नामक कथा सङ्ग्रहमा सङ्ग्रहित छ । यस कथामा कथाकारले म पात्रलार्इ प्रमुख पात्रका रूपमा उभ्याएर २०५२ पछि नेपालमा भएको शसस्त्रद्वन्द र द्वन्दले निम्त्याएको अवस्थाको यथार्थ प्रस्तुति गरेका छन् ।

  यस कथामा सानोबाबु नाम गरेको म पात्र प्रमुखपात्र हो । यहाँ म पात्र लगायत चुन्नुकी आमा ,फुलवा , सानोबाबुकी आमा , हजुरबा ,हजुरआमा मञ्चिय पात्र हुन् भने हरेराम ,चुन्नु ,रेसम , वुधराम , सुरजराम लछमन , माधुराम , चमेली , फेरूवा आदि नेपथ्य पात्र हुन् । म पात्र गाउँ छोडेर सहर बस्न थालेको ६ वर्ष भइसकेको हुन्छ । अमा, हजुरबा , हजुरआमा गाउँको मायाले गाउँमानै बसेका हुन्छन् । आमाले हजुरबा ,हजुरआमाको नातिको अनुहार देख्ने चाहना भएको भनि चिठ्ठी पठाएपछि म पात्र गाउँ जाने निधो गर्छ । दाह्री जुँगा पाली कपालले आफ्नो अनुहार ढाकि आफूलार्इ कसैले नचिन्ने हुलिया बनाएर गाउँ छिर्छ । सडकबाट दुर्इवटा गाउँ काटे पछि मात्र उसको गाउँ आउँछ । गाउँको रमाइलो वातावरणको कल्पना गरि अगाडि बढ्छ । उसका कल्पना भन्दा फरक उसको गाउँ हुन्छ । उसले पढेको (अक्षर चिनेको ) विद्यालयको भग्नावशेष मात्र देख्छ ,गाउँलेहरूले श्रमदान गरेर बनाएको टेलिकमको टावरलार्इ बम विष्फोटनले सखाव पारेको छ । गाउँघरका युवा कोहि मुग्लान गए कोहि शहर गए कोहि शसस्त्र युद्दमा होमिए । गाउँमा बुढाबुढी , आइमाइ र केटाकेटी मात्र छन् । त्यहि पनि एकदमै नगन्य मात्रामा । यस्तो अवस्था देखेर सानोबाबु(म ) पात्रलार्इ दुःख  लाग्छ । उसले गाउँमा आफ्ना साथीभाइ कसैलार्इ देख्दैन ।गाउँघरका मानिसहरू पनि  कोहि बाहिर बसेका हुँदैनन्  ।उनिहरू दिउसो पनि ढोका लगाएर नै बस्ने र गाउँमा कसैको वास्ता नगर्ने गर्छन् । कोहि मानिसको अनुहारमा हाँसो हुँदैन । यस्तो परिवेश चियाउदै ऊ घर पुग्छ । घरमा पनि ढोका बन्द अवस्थामा हुन्छ । उसले ढोका ढकढक गरेर आवाज दिएपछि आमाले भित्रबाटै को भनि सोधेर प्रष्ट भएपछि मात्र ढोका खोली छीटो छोरालार्इ भित्र तान्छिन  र ढोका लगार्इ हाल्छिन् । उनिहरूकाबीच  भलाकुसारी  हुन्छ । हजुरबा ,हजुरआमा नातिलार्इ देख्दा खुसि हुन्छन् । आमाले पनि छोरालार्इ मायाँ बर्साउछिन् । उज्यालो भर्इ नसक्दै गाउँमा बन्दुकको आवाज सुनिन्छ र ऊ त्यहाँबाट अध्यारामानै भाग्न बाध्य हुन्छ । यसरी यो कथाको कथानकको अन्त्य भएको छ ।

     वि. सं. २०५२ साल देखि नेपालमा ससस्त्र जनआन्दोलन सुरू भएको थियो ।त्यतिबेला आन्दोलनको सुरूवात नेपालको ग्रामिण परिवेशबाट भएको थियो ।उनिहरू गाउँबाट नै  आफ्नो आन्दोलनलार्इ अगाडि बढाउँदै गएका थिए ।उनिहरूले अनेकन कार्यक्रम गरेर गाउँका युवाहरूलार्इ आफ्नो सहयात्री बनाउँदै आफ्नो समूहको संख्या विस्तार गर्दै गए । सरकारले यसलार्इ आतङ्ककारी भनि घोषणा गरेको थियो । स्वभाविकरूपले सरकार यसको विरूद्धमा देखिन्थ्यो । सरकार र आन्दोलनकारी बीच मुढभेड भइरहन्थ्यो त्यसले गाउँका जनताहरूलार्इ असर पुर्याएको थियो । उनिहरू दुवैतर्फबाट सुरच्छित थिएनन् । त्यसकारण कोहि विदेशिए भने कोहि शहर पसे गाउँघर युद्ध क्षेत्र जस्ता भए भएका भौतिक संरचनाहरू पनि भत्किए ।द्वन्दका कारणले गाउँको शान्त र शुन्दर परिवेशमा बसेर सोझा ,शान्त मानिसको मानसिकतामा पिडाहरू थपिए त्रास र आतङ्कहरू फैलिए ।गाउँका मानसको ओठमा हाँसो छैन यहि यथार्थ प्रस्तुती यस कथामा पार्इन्छ ।

      द्वन्दले त्रास र डर मात्र बढाउँछ ।समाजले शान्त वातावरणको खोजि गरिरहेको हुन्छ ।शान्त समाजमा मात्र विकासको कल्पना सम्भव हुन्छ भन्ने आसय यहाँ पाउन सकिन्छ । अर्थात द्वन्दले मानिसको जीवनलार्इ भताभुङ्ग बनाउँछ घर परिवार विछडिन्छ ।गाउँको खेतियोग्य जमिन बाँझिन्छ भोकमरी र गरिबी बढ्छ अशिक्षाको गति बढ्छ र मानिसको स्तरोन्नति घट्छ भन्ने कुरा यहा देखिन्छ ।

   पश्चिम नेपालको परिवेश ,थारूभाषाको प्रयोग ,सरल र सहज अभिव्याक्ति जस्ता विशेषता बोकेको यस कथाले शान्तिले नै समाजको विकाश हुन्छ  ।द्वन्दले कहि ल्यहि मानिसको उन्नति हुन सक्दैन भन्ने आसय व्यक्त गर्दै शान्तिको कामना गरेको देखिन्छ ।

 

 



नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...